स्थानीय तहमा आर्थिक खर्च अपारदर्शीः ८ करोड ५५ लाख बेरुजु

1.09K shares

म्याग्दी । जिल्लाका छ वटै पालिकामा अनियमितताले बर्सेनि बेरुजु रकम बढ्दै गएको छ । विकास निर्माणको काम समयमै सम्पन्न नगरेकाले अधिकांश स्थानीय तहमा बेरुजु बढेको हो । त्यस्तै कानुनविपरीत काम हुँदा र लेखापरीक्षणको क्रममा आवश्यक कागजात संलग्न नगर्दा पनि बेरुजु बढेको छ ।

गत आर्थिक वर्षमा यहाँका स्थानीय तहमा रुपैयाँ आठ करोड ५५ लाख २७ हजार रुपैयाँ बेरुजु रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । स्थानीय तहमा नीतिगत र आर्थिक अनियमितताले विकास योजनामा बेरुजु देखिएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बेनी नगरपालिकामा दुई करोड आठ लाख रुपैयाँ, रघुगङ्गा गाउँपालिकामा एक करोड ७० करोड ८२ हजार रुपैयाँ, धवलागिरीमा एक करोड ५७ लाख आठ हजार रुपैयाँ, मालिकामा एक करोड ३० लाख ५७ हजार रुपैयाँ, मङ्गलामा एक करोड २५ लाख ९३ हजार रुपैयाँ र अन्नपूर्ण गाउँपालिकामा ६२ लाख ८७ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

आर्थिक वर्षको अन्तिममा ठूलो मात्रामा बजेट खर्च गर्दा प्रक्रिया पूरा नगरेको, रकमान्तर नगरी विनियोजित भन्दा फरक शीर्षकमा बजेट खर्च गरेको, सार्वजनिक खरिद ऐनको प्रतिकूल हुने गरी बिना प्रतिस्पर्धा सामग्री खरिद र योजनाका काम गरेको, नदीजन्य बस्तु कम दररेट राखेर बेचेको, उपभोक्ता समितिहरुले लगेको पेस्की फस्र्यौटमा बेवास्ता गरेको र विद्यालयमा हाजिर नगरेका शिक्षकलाई तलब दिएको जस्ता टिप्पणी प्रतिवेदनमा औँल्याइएको छ ।

 

1.09K shares