अफगानिस्तानबाट पाकिस्तानमा २० हजार विस्थापित

1.44K shares

एजेन्सि । तालिबान विद्रोहीहरुले सत्ता कब्जा गरेपछि अफगानिस्तानबाट पाकिस्तानमा अहिलेसम्म २० हजार विस्थापित भएका छन् । विस्थापित भएकाहरु अफगानिस्तानका र अन्य विभिन्न देशका नागरिक रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

यो सङ्ख्या विमानबाट पाकिस्तानको केन्द्रीय राजधानी इस्लामाबाद विमानस्थलमा आउनेहरुको मात्रै भएको पनि अधिकारीहरुले बताएका छन् ।

तालिबान विद्रोहीहरुले यही अगस्त १४ तारिखका दिन अफगानिस्तानको केन्द्रीय राजधानी काबुल आफ्नो नियन्त्रणमा लिएदेखि अहिलेसम्म काबुलबाट इस्लामाबादसम्म ३३२ उडान भएका छन् । सो उडान मार्फत ती विस्थापितहरु पाकिस्तान आइपुगेका हुन् ।

अफगानिस्तानमा रहेका धेरै मानिसले अफगानिस्तान छोड्न चाहेको र काबुल विमानस्थलमा ठूलो भीड लागेपछि पाकिस्तानले विषेश उडानसमेत सञ्चालन गरेको थियो ।

छिमेकी देशको सामान्य दायित्वका रुपमा उनीहरुलाई उद्धार गरिएको र असीमित मानिसलाई ल्याउन पनि नसकिएको पाकिस्तानी अधिकारीहरुको भनाइ छ ।

कतिपय विस्थापितहरुले इस्लामाबाद विमानस्थललाई माध्यमको रुपमा मात्रै प्रयोग गरेर अन्यत्र पनि गएको उनीहरुले जनाएका छन् ।

“पाकिस्तानको सीमानाकाबाट अहिले दैनिक १८ हजार मानिस आउने जाने गरेका छन्” चामन नाकाका कोरोनाभाइरस स्वास्थ्य समूहका प्रमुख हमिद उल्लाहले भने।

उनका अनुसार यसअघि सोही ठाउँबाट दैनिक १२ हजारले ओहोरदोहोर गर्ने गरेका थिए । यो सङ्ख्या हेर्दा पहिलाभन्दा अहिले सीमानाका प्रयोग गर्नेहरुको सङ्ख्या बढेको छ ।

1.44K shares