लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना हुने
वि.सं.२०७८ कात्तिक २४ बुधवार १४:३८
काठमाडौँ। नेपालको नक्सामा पछिल्लो पटक समावेश गरिएको भुगोल लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा जनगणना हुने भएको छ । भोलि देखि सुरु हुने बाह्रौँ राष्ट्रिय जनगणनाको बारेमा जानकारी दिन बुधवार गरिएको पत्रकार सम्मेलनमा केन्द्रीय तथ्याङ्क विभागले उक्त कुरा जनाएको हो ।
प्रत्येक १० वर्षमा हुने राष्ट्रिय जनगणना भोलि बिहीबारबाट सुरु हुँदैछ । जनगणना सात प्रदेश जनगणना कार्यालय, ७७ जिल्ला जनगणना कार्यालय र ३ सय ४९ स्थानीय तहबाट हुनेछ । यसको सम्पुर्ण तयारी पुरा भएको विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले बताए ।
काठमाडौँमा पाँच वटा जनगणना कार्यालयबाट गणना हुनेछ भने धेरै जनसङ्ख्या भएका झापा, मोरङ, सुनसरी, ललितपुर, रुपन्देही र कैलालीलगायतका जिल्लामा दुई–दुई वटा जनगणना कार्यालयबाट गणना हुनेछ ।
जनगणनाका लागि देशभर ४० हजार गणक र ८ हजार ५ सय सुपरीवेक्षक परिचालन गरिने महानिर्देशक श्रेष्ठले बताए । त्यस्तै, नेपालको नक्सामा समेटीएको भुगोलमा भारतले सहज रुपमा आवतजावत गर्न दिए भौतिक रुपमा उपस्थित भएर गणना गरिने उनले बताए ।
भारतले सहजता प्रदान नगरेको खण्डमा स्याटेलाइट प्रयोग गरेर अनुमानको भरमा गणना गरिने उनले बताए ।
वि.सं.२०७८ कात्तिक २४ बुधवार १४:३८