पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज नगरे आन्दोलनमा उत्रिने अनेरास्ववियूको चेतावनी
वि.सं.२०७८ कात्तिक २५ बिहीवार ०५:२६
काठमाडौँ । नेपाल आयल निगमले बुधबार पेट्रोल, डिजल, मट्टितेल, हवाई इन्धन, खाना पकाउने ग्यासमा गरेको मूल्यवृद्धि खारेज गर्न नेकपा (एकीकृत समाजवादी) को जनवर्गिय संगठन अनेरास्ववियूले माग गरेको छ । बिहीबार विज्ञप्ती जारी गर्दै संगठनका अध्यक्ष सुदेश पराजुलिले मृल्यवृद्धि फिर्ताको माग गरेका हुन् ।
सरकारले दैनिक उपभोग्य वस्तुमा गरेको मूल्यवृद्धिले जनता मारमा परेको भन्दै शिघ्र मूल्यवृद्धि खारेज गर्नुपर्ने विज्ञप्तीमा उल्लेख छ । मूल्यवृद्धि खारेज नभए कडा आन्दोलनमा उत्रीने चेतावनी पनि पराजुलिले दिएका छन् ।
बुधबार राति १२ बजेदेखि लागू हुने गरि निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ३ रुपैँयाले मुल्य बढाएको छ । अब पेट्रोल प्रतिलिटर १ सय ३६ रुपैयाँ र डिजल र मट्टितेल प्रतिलिटर १ सय १९ रुपैँया पर्नेछ । त्यस्तै, हावाई इन्धनमा निगमले ५ रुपैयाँ प्रतिलिटर बढाएर १ सय १ रुपैयाँ कायम गरेको छ भने बाह्य हवाई इन्धनको मूल्य प्रति किलोलिटर ८ सय ९५ रुपैयाँ कायम भएको छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढेको छ । यसअघि ग्यासको मूल्य १५ सय रुपैँया प्रतिसिलिन्डर थियो ।
वि.सं.२०७८ कात्तिक २५ बिहीवार ०५:२६