ब्याटलग्राउण्ड गौरीशंकर : कसको शक्ति कति ?

581 shares

दोलखा । स्थानीय तहको निर्वाचन नजिकिएसँगै दोलखाका राजनितिक दलहरुले निर्वाचन केन्द्रित गतिविधि तिव्र पारेका छन् । स्थानीय स्तरमा भेला, जमघट, छलफलले तिव्रता पाएको छ ।

निर्वाचनको मिति नजिकिएपनि दलहरुले उम्मेदवारको टुंगो भने लगाउन सकेका छैनन् । सत्तारुढ गठबन्धनका पाँच दल तालमेलको खाका बनाइरहेका छन् भने प्रतिपक्षि दल एमाले उम्मेदवारको छनौट र आमसभाहरुमा व्यस्त देखिएको छ ।

दोलखाको उत्तरी भेग गौरीशंकरको माहोल पनि तातेको छ । गएको स्थानीय तहमा सानदार जित हासिल गरेको एमाले आफ्नो विरासत जोगाउन कोसीस गरिरहेको छ भने काँग्रेस र माओवादी लगायतका दल सत्ता आफ्नो पोल्टामा पार्ने कोसिसमा लागेका छन् ।

गत निर्वाचनमा काँग्रेस, माओवादीको साझा उम्मेदवार बनेका निमा लामाले पार्टी छाडेपछि माओवादी हतोत्साही देखिएको छ । काँग्रेस पनि निर्वाचन केन्द्रित भेलाहरुमा व्यस्त देखिएको छ । एमाले फुटेर बनेको समाजवादी संगठन विस्तारमा रहेको छ । दोलखाको अन्य स्थानीय तहको तुलनामा समाजवादीको प्रभाव सुस्त देखिन्छ गौरीशंकरमा ।

केन्द्रिय गठबन्धन अनुसार काँग्रेस, माओवादी र समाजवादी तालमेल गरेर चुनावमा जाने जस्तो देखिएपनि माओवादीले पालिका प्रमुखमा एकलौटी उम्मेदवार घोषणा गरेको छ । माओवादीले पालिका प्रमुखमा विश्वास कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यस्तै, प्रतिपक्षि दल एमालेले हालसम्म उम्मेदवारको टुंगो लगाउन सकेको छैन । श्रोतका अनुसार पालिका प्रमुखमा जंग गुरुङलाई उम्मेदवार बनाउने तयारी एमालेको रहेको छ ।

कसको शक्ति कति ?

गत स्थानीय तहको निर्वाचनमा एमालेले माओवादी र काँग्रेसको गठबन्धनलाई पराजित गरेर पालिकाको सत्ता लिएको थियो । एमालेका सोयम बहादुर खड्काले गठबन्धनका निमा लामालाई पराजित गरेका थिए ।

उक्त निर्वाचनमा खड्काले ४२ सय ४९ मत प्राप्त गरेका थिए भने लामाले ३४ सय ४० मत प्राप्त गरेका थिए ।

९ ओटा वडा रहेको गौरीशंकरमा एमालेले ६ ओटा वडामा जित हासिल गरेको थियो । माओवादीले २ र काँग्रेस १ वडामा विजयी भएको थियो । वडा नम्वर २ मा एमालेले १० मतले हारेको थियो ।

अघिल्लो निर्वाचनमा सग्लो रहेको एमाले विभाजन भएको छ । माओवादी केन्द्र र काँग्रेस र समाजवादीले संगठन विस्तार गरिरहेका छन् ।

एमाले विभाजनको असर शुन्य रहेको र माओवादी केन्द्रबाट प्रभावशाली नेताहरु एमालेमा प्रवेश गरेकोले जतिसुकै गठबन्धन भएपनि कुनै असर नपर्ने एमालेका गौरीशंकर पालिका कमिटीका प्रमुख गुरुङले दावि गरे ।

थपिएका मतदाता, गठबन्धनको अबस्था र सुरक्षाको पाटोले गौरीशंकरको निर्वाचनलाई निस्चित गर्दछ । जबुत संगठन रहेको एमालेलाई पराजित गर्नको लागि सत्तारुढ गठबन्धनले धेरै मेहनत गर्नुपर्ने देखिन्छ ।

सुरक्षा खतरा

स्थानीय तहको निर्वाचनमा सवैभन्दा सुरक्षा खतरा रहेको पालिका हो गौरीशंकर । गएको निर्वाचनमा माओवादी केन्द्रले एमालेको कार्यकर्ताको हत्या गरेको थियो । बुध लुट्ने, स्वतन्त्र मत खसाउन नपाउने लगायतका सुरक्षा खतरा गौरीशंकरमा देखिन्छ ।

दोलखाको राजनीतिको इपिसेन्टर पनि हो गौरीशंकर । गौरीशंकरबाट एमालेको तर्फ २ पुर्व मन्त्री र माओवादीको एक पुर्व राज्यमन्त्री भइसकेका छन् । माओवादीका नेता विशाल खड्का हाल बागमति प्रदेश सरकारका वन तथा वातावरण मन्त्री रहेका छन् ।

नेताहरुको अस्तित्वको लडाँइको चपेटामा रहेका गौरीशंकरका जनताहरुले फेरी पनि उक्त लडाईको शिकार बन्नुपर्ने देखिन्छ ।

581 shares