धमाधम उम्मेदवार घोषणा गर्दै दोलखा माओवादी, गठबन्धन सशंकित

595 shares
ishwor movie

दोलखा । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरु उम्मेदवार छनौटमा व्यस्त भएका छन् । पार्टी कमिटीहरुको बैठक, भेला र छलफलले तिव्रता पाएको छ ।

सत्तारुढ गठबन्धनका दलहरु तालमेल कसरी गर्ने भन्ने कसरतमा रहेका छन् । तालमेलको मोडालिटिमा केन्द्रले केहि मापदण्ड बनाए पनि सो अनुसार स्थानीय तहमा हुबहु लागु हुनेमा शंका देखिन्छ । उक्त समस्या दोलखाको सत्तारुढ गठबन्धनमा पनि देखिएको छ । गठबन्धनको बैठक लामो समयदेखि बस्न सकेको छैन ।

स्थानीय तहको निर्वाचनमा कसरी तालमेल गर्ने, स्थानीय तह क–कस्ले लिने भन्ने विषयमा ठोष छलफल गठबन्धनले गर्न सकेको छैन । गठबन्धनमा रहेका दलहरुले दिएका अभिव्यक्तीले झन् गठबन्धन समस्यामा परेको देखिन्छ । काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीका नेताहरुले सार्वजनिक रुपमा गठबन्धनविरुद्धका अभिव्यक्तीहरु दिन थालेका छन् ।

त्यस्तैमा माओवादी केन्द्र दोलखाले धमाधम स्थानीय तहको प्रमुखमा उम्मेदवार घोषणा गरिरहेको छ । पार्टीले गौरीशंकर, वैतेश्वर, तामाकोशी, विगु, कालिन्चोक, मेलुङ गाउँपालिकाको प्रमुखमा उम्मेदवार घोषणा गरिसकेको छ ।

माओवादीले उम्मेदवार घोषणा गर्नुमा गठबन्धनमा दबाब सिर्जना गर्न खोजेको रुपमा बुझीएको छ । पार्टीका जिम्मेवार नेताहरु एक्लै चुनाव लड्न सकिने भन्दै सार्वजनिक रुपमा भाषण गरिरहेका छन् । तर, स्थानीय तहको निर्वाचन २०७४ मा काँग्रेस माओवादी गठबन्धन हुँदा विगु र वैतेश्वर गाउँपालिका मात्र जितेको थियो ।

उक्त स्थानीय तहको निर्वाचनमा एमाले सग्लो थियो, अहिले विभाजन भएर एकीकृत समाजवादी बनेको छ । दोलखामा समाजवादीको हैसियत कति हो भन्ने कुरा स्पष्ट छैन । मेलुङ, तामाकोसी र वैतेश्वर गाउँपालिकामा राम्रो उपस्थिति रहेको समाजवादीका नेताहरु बताउँछन् । अन्य तहमा भने सामान्य उपस्थिति मात्रै रहेको देखिन्छ ।

एमाले विभाजन भएको र समाजवादी गठबन्धनमा रहेकोले एमालेलाई पराजित गर्न सजिलो रहेको गठबन्धनको बुझाई देखिन्छ । त्यसैले पनि गठबन्धनका दलहरु धैरै स्थानीय तहमा दावि गरिरहेका छन् ।

माओवादीले धमाधम स्थानीय तहको उम्मेदवार घोषणा गर्नु, काँग्रेसले गठबन्धन विरोधि अभिव्यक्तिहरु दिनुले गठबन्धनमा समस्या रहेको स्पष्ट देखिन्छ । यस्तोमा गठबन्धन कसरी अगाडि बढ्छ भन्ने कुराको एकिन छैन ।

595 shares