ब्याटलग्राउण्ड वैतेश्वर : काँग्रेसले जोगाउला सत्ता, यस्तो छ अंकगणित

707 shares

दोलखा । स्थानीय तहको निर्वाचन २०७४ मा वैतेश्वर गाउँपालिकामा काँग्रेस र माओवादी केन्द्रको गठबन्धनले जित हासिल गरेको थियो । पालिकाको प्रमुख र उप प्रमुखमा गठबन्धनले एमालेलाई पराजित गरेको थियो ।

उक्त निर्वाचनमा अप्रत्यासित नतिजा गठबन्धनले हासिल गरेको आम बुझाई थियो । नेकपा एमालेको कुनै समय केन्द्र मानिने काब्रे गाविस पनि सोही पालिकामा पर्दथ्यो । पालिका भित्रका अन्य वडामा राम्रो उपस्थिति हुँदा हुँदै पनि एमाले गठबन्धन सामु टिक्न सकेन र पालिकाको सत्ताबाट बाहिरियो ।

अहिले एमाले विभाजन भएको छ भने २०७४ कै गठबन्धन दोहोरिने सम्भावना उत्तिकै छ । उक्त गठबन्धनमा थपिएको छ एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी ।

दोलखाको अन्य स्थानीय तहको तुलनामा वैतेश्वरमा समाजवादीको उपस्थिति सन्तोषजनक देखिएको छ । उक्त पार्टीको जिल्ला अध्यक्ष भिम प्रसाद दाहाल पनि सोही गाउँपालिकाका हुन् । विशेष वडा नम्बर ४ र ५ मा समाजवादीको उपस्थिति राम्रो देखिएको छ ।

काँग्रेस, माओवादी र समाजवादीको गठबन्धनलाई चुनौति दिन एमालेलाई फलामको चिउरा चपाउनु जस्तै छ । दुई पार्टीको मात्र गठबन्धन हुँदा पनि एमालेले हार व्यहोर्नुपरेको थियो । त्यसमा अझ समाजवादी थपिएको छ ।

उक्त निर्वाचनमा प्राविधिक कारणले हार व्यहोर्नुपरेपनि यो पटक उक्त गल्ति नदोहोर्याउने एमालेका नेताहरु बताउछन् ।

गठबन्धन विरुद्ध एमालेका माधव घिमिरे

केन्द्रिय सत्तामा पाँच दलिय गठबन्धको सरकार छ । सो अनुसार निर्वाचनमा पनि उक्त गठबन्धनले निरन्तरता पाउने देखिन्छ । तर, अहिलेसम्म गठबन्धनले तालमेलको मोडालिटी बनाउन सकेको छैन । यस्तैमा माओवादी केन्द्रले पार्टीको तर्फबाट पत्रकार लक्षमण खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

अघिल्लो निर्वाचनमा आफुले पालिका प्रमुख जितेकाले स्वत आफुले पाउनुपर्ने दावि काँग्रेसको छ । त्यस्तै, एकीकृत समाजवादीले पनि वैतेश्वरको प्रमुख पाउनुपर्ने दावि गरिरेहेको छ ।

गठबन्धनको अन्यौलताबिच प्रतिपक्षि दल एमालेले पनि आइतबार पालिका अध्यक्षमा माधब प्रसाद घिमिरेलाई उम्मेदवार बनाउन सर्वसम्मत निर्णय गरेको छ । त्यस्तै उपप्रमुखमा शान्ति कुमारी तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । घिमिरे साविकको नाम्दु गाविसका अध्यक्ष समेत भइसकेका शालिन नेता हुन् ।

यस्तो छ दलहरुको हैसियत

वैतेश्वरमा ८ वटा वडाहरु रहेका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा काँग्रेसले वडा नम्बर १, २, ३ र ६ मा जित हासिल गरेको थियो भने माओवादी केन्द्रले वडा नम्बर ८ मा जित हासिल गरेको थियो । त्यस्तै, एमालेले वडा नम्बर ४, ५ र ७ मा जित हासिल गरेको थियो ।

वडा नम्बर १ मा एमालेले शुन्य मत प्राप्त गरेको थियो ।

पालिकाको प्रमुखमा गठबन्धनका छवि लामाले ७१७९ मत प्राप्त गरेका थिए भने एमालेका ऋषिकेश उप्रेतिले ५०२९ मत प्राप्त गरेका थिए । त्यस्तै, गठबन्धनका उप प्रमुख रवि चन्द्र आचार्यले ७५५२ मत प्राप्त गरेका थिए भने एमालेकी शान्ति कुमारी तामाङले ४४४३ मत प्राप्त गरेकी थिइन् ।

गठबन्धनले थप शक्ति आर्जन गरेको र एमाले विभाजन भएको अवस्थामा एमालेलाई नतिजा आफ्नो पोल्टामा पार्न चमत्कारको आवश्यक पर्ने देखिन्छ ।

707 shares