सुरीका विशाल खड्का मौरी पालेरै कमाउँछन् वार्षिक १० लाख

1.19K shares
ishwor movie

दोलखा । गौरीशंकर गाउँपालिका ५ सुरीका विशाल खड्का (रामकुमार खड्का) २०६२ सालतिर उज्जवल भविस्यको कल्पना गर्दै मलेसिया गएका थिए । मलेसियामा रहँदा उनले मासिक नेपाली रुपैँया १० हजार कमाउने गर्थे । दिनरात मेहनत गर्दापनि सोचेजस्तो नभएपछि नेपाल फर्किए ।

नेपालमा के गर्ने कुनै ठेगान थिएन । केही समय जसोतसो गुजारा गरे । फेरी यस्तो समय आयो उनले मौरी पालन गर्ने सोचे । तर, कसरी गर्ने ? कुनै आइडिया थिएन ।
जे भएपनि आँट घरेर जंगलमा बस्ने मौरीलाई ल्याएर घारहरु बनाए । थोरै मात्रामा मौरी पाल्न थाले । मौरी व्यवसायलाई कसरी आधुनिक किसिमले व्यवसायिक रुपमा पाल्ने भन्ने विषयमा बुझ्न थाले । २०७३ सालमा भुकम्प गयो । सोही समय गाउँमा मौरीपालन व्यवसायको तालिम दिन एउटा संस्था आइपुग्यो । उनलाई के चाहियो र अब ? तुरुन्तै गए तालिम लिन ।

जसोतसो मौरी पालिरहेका उनलाई उक्त तालिमले थप उर्जा प्रदान गर्यो । उनले मौरी पालनलाई थप आधुनिक र व्यवसायिक बनाउने मौका पाए । मौरी पालन सम्बन्धि कुनै तालिमको बारेमा थाहा पाउने वित्तिकै कुदिहाल्थे । हालसम्म उनले विभिन्न किसिमका तालिम ७ पटक जति लिइसकेका छन् ।

अहिले विशालसँग १ सय २० घार मौरी छन् । एपि सेरेना जातको मौरी । उक्त मौरीलाई उनि र उनको श्रीमति निरुता गुरुङ मिलेर हेर्ने गर्छन् । मौरीलाई स्याहार गर्न धेरै जनशक्तिको आबस्यकता नपर्ने विशाल बताउँछन् ।
मौरीलाई चाहिने घार उनि घरमै बनाउँछन् । यसका लागि उनले एकजना मिस्त्री राखेका छन् । महको साथमा उनि मौरीको गोला पनि बेच्ने गर्दछन् । गोला बेच्ने हुँदा महको लोभ गर्न नहुने बताउँछन् उनि । गोला बेच्ने कि मह बेच्ने त्यसमा भर पर्छ, कति मह काढ्ने भनेर उनले बताए ।

गोला बेच्ने हुँदा मौरीलाई विभाजन गरेर नयाँ घारमा राख्छन् उनि । एपी सेरेना जातको मौरी घारमा २५ हजारसम्म हुने बताए । त्यसमा एक रानी हुन्छ । नयाँ गोला बनाउँदा मौरीलाई विभाजन गरेर नयाँ घारमा राखिन्छ । नयाँ घारमा राखेको मौरीले आफैँ रानी उत्पादन गर्छ । घार सहितको मौरी प्रतिघार उनले १० हजार रुपैँयामा बेच्ने गरेका छन् । मौरीबाहेक घारमात्र उनले ३५ सय रुपैँयामा बेच्ने गरेका छन् ।

रानी बिना मौरी घारमा बस्दैन । एक पटक गृहत्याग गरेको रानी फेरी फर्केर उक्त घारमा आउँदैन त्यसैले गृहत्याग भनेको उनले बताए । रानीले अण्डा पार्ने गर्दछ । चैत्र महिनामा मौरीको लुटलडाँइ हुने उनले बताए । उक्त समयमा मौरीको एकआपसमा लडाँई हुने गर्दछ ।

कात्तिक–मङ्सिरको समयमा धेरै मह उत्पादन हुने गर्दछ । यसका अलवा जेठ महिनामा पनि मह उत्पादन हुने गर्छ । मह किलोका एक हजार रुपैँया भन्दा धेरैमा बेचिरहेका उनि बजारको माग धान्न गाह्रो भएको बताउँछन् । उत्पादित मह दोलखा जिल्लाका अलवा काठमाडौँसम्म पुग्ने गर्छ ।

काम गर्न सके मौरीपालनबाट राम्रो आम्दानी हुने उनले बताए । मौरी, मह र घार बेचेर वार्षिक ७ देखि १० लाखसम्म आम्दानी गरिरहेको उनको दावि छ । सरकारले प्रोत्साहन गरेर युवाहरुलाई व्यवसायि बनाउन सके स्थानीय स्तरमै राम्रो आम्दानी हुने उनले बताए । मौरी पालनको लागि स्थानीय सरकारले सहयोग गरेकोमा उनले धन्यवाद पनि दिए ।

1.19K shares