हाट संस्कृति फर्काउदै जिरी

749 shares

दोलखा । कुनै समय कृषकहरुले गरेको उत्पादन बिक्री गर्ने थलो थियो हाट । अझ भनौँ एउटा पर्व जस्तै थियो हाट । पछिल्लो समय उक्त पर्व लोप भइसकेको छ । हाट लाग्ने कुरा अनौठो विषय बनेको छ । पछिल्लो पुस्तालाई त हाट भनेको के हो ? भन्ने भइसकेको छ ।

जिरी नगरपालिकाका स्थानीय महिलाहरुको अग्रसरतामा फेरी हाट संस्कृतिले प्राण पाएको छ । असार पहिलो हप्ताको शनिबारबाट जिरीको लिंकन बजारमा हाट लाग्न शुरु भयो । स्थानीय कृषकहरुले उत्पादन गरेको कृषि उपजहरु लिंकनका पेटीहरुमा देखिन थाले । सुनशान रहने जिरी बजारमा मान्छेहरुको भिँड देखियो ।

हाट बजार सुरु भइसकेपछि स्थानीय किसानहरु पनि खुसि देखिएका छन् । पसलमा लगेर कृषि उपज दिँदा कम मुल्य प्राप्त गर्ने किसानहरु अहिले आफ्नै मुल्यमा बिक्री गर्न पाउँदा खुसि देखिन्छन् ।

प्रत्येक शनिबार लाग्ने हाटमा जिरी बजार आसपासका किसानहरु सहभागि हुने गर्दछन् । यसलाई विस्तार गर्नुपर्ने स्थानीयहरु बताउँछन् । नगरका अन्य वडाका किसानहरुलाई पनि हाटमा सहभागि हुन प्रेरीत गर्नुपर्ने स्थानीय बाबुराजा श्रेष्ठले बताए ।

हाट लागेसँगै आन्तरीक पर्यटकहरुको चासो पनि बढेको छ । यसै त जिरी पर्यटकिय नगरको रुपमा परिचित छ । हाटले अझ आन्तरीक पर्यटकलाई आकर्षण गर्न सक्छ । शुक्रबार बेलुका जिरी पुगेर शनिबारे हाट हेरी पर्यटकहरु फर्कन सक्नेछन् ।

हाटलाई प्रचार प्रसार गर्न सके यसले कृषहरुको आम्दानीमा पनि सघाउने श्रेष्ठले बताए ।

749 shares