समयमै काम नसक्ने ठेकेदार कम्पनीलाई विगु गाउँपालिकाको राहत
वि.सं.२०७९ असार २७ सोमवार ११:०७
दोलखा । विगु गाउँपालिकाले समयमै आयोजना निर्माण सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई राहत स्वरुप आयोजनाको म्याद थपिदिएको छ । पालिकाले झोरुङ खोला मोटरेवल पुल निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनीसँगको सम्झौता नविकरण गरेको हो ।
सिंगटी हाइड्रोको ८० प्रतिशत र विगु गाउँपालिकाको २० प्रतिशत साझेदारीमा दुई वर्षे योजनाको रुपमा उक्त आयोजना अगाडि बढाइएको थियो । साँढे ३ करोडको बोलपत्र आह्वान गरिएकोमा २ करोड १६ लाख ४६ हजारको बानिया–त्रिवेणी लाफा जेभिको कवोल स्वीकृत गरिएको थियो ।
आयोजनाको म्याद सकिने अन्तिम समयमा कम्पनीले पुल ढलानको तयारी गरेपनि बाढीले ढलानको सबै संरचना बगाएको थियो । संरचना बगाएपछि अलपत्र परेको पुल ढलानको लागि गाउँपालिकाले कम्पनीसँगको सम्झौता ६ महिनाको लागि नविकरण गरेको छ ।
पटक पटक स्थानीयबासिले समयमै काम सम्पन्न गर्न आग्रह गरेपनि गाउँपालिका र ठेकेदार कम्पनीले वास्तै गरेनन् । जब असार मध्य भयो ढलानको तयारी गरियो । सोही समय वर्षायामको कारण बाढीले पुल बगाएको थियो ।
ठेकेदार कम्पनीले महँगि, कोरोना र चुनावको कारण देखाएकोले म्याद थप गरिएको गाउँपालिकाले जनाएको छ ।
वि.सं.२०७९ असार २७ सोमवार ११:०७