किशोरीमाथि बलात्कारको अभियोगमा दोलखा गौरीशंकरका युवक प्रहरी हिरासतमा

399 shares

काठमाडौँ । किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले दोलखाका एक युवकलाई हिरासतमा लिएको छ । थानकोटमा टिपरभित्र किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले गौरीशंकर ८ खारेका एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ३२ वर्षीया ज्ञान बहादुर नेपाली रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका नेपालीलाई काठमाडौं जिल्ला अदालतले मुलुकी फौजदारी संहिता २०७४ को करणी सम्बन्धी कसुरमा थप अनुसन्धान गर्न पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । नेपाली रा १ ख २७३४ नम्बरको टिपर चालक हुन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार घटना शुक्रबार राति १० बजेतिर भएको हो । चन्द्रागिरि नगरपालिका ७ थानकोटस्थित नेपाल आयल निगमको डिपो जाने बाटो छेउमा पार्किङ गरी नेपालीले युवतीमाथि बलात्कार गरेको आरोप लागेको छ ।

१७ वर्षीया ती किशोरी कलेज पढ्दै काम गर्ने गर्थिन्। त्यस दिन उनी गाउँबाट सोही टिपर चढेर काठमाडौं आएकी थिइन्। तर थानकोट पुगेपछि चालक नेपालीले तेल सकियो हाल्न जाऊँ, पछि गौशाला पुर्‍याइदिन्छुु भनेका थिए । किशोरी गौशालामा डेरा गरी बस्छिन्।

तेल हाल्ने बहानामा उनले थानकोटको डिपो जाने बाटोको छेउमा पार्किङ गरेका थिए। त्यहाँ उनले सहचालकलाई गाडीको टायर जाँच गर्नु भन्ने बहाना बनाएर गाडीबाट पठाए। सहचालक बाहिर गएपछि चालक नेपालीले गाडीको ढोका बन्द गरी किशोरीमाथि बलात्कार गरेको प्रहरी उपरीक्षक मैनालीले बताए। बलात्कार गरेपछि चालक टिपर छाडेर भागेका थिए। बलात्कार गरेको खबर पाएपछि प्रहरी वृत्त थानकोटबाट प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेयको कमान्डमा टोली खटिएर पीडित किशोरीको उद्धार गरेको थियो।

पीडित किशोरीको उद्धार गरी स्वास्थ्य परीक्षणका लागि प्रसूति गृह, थानकोटमा पठाइएको थियो। त्यसपछि चालकको खोजी गर्दा शनिबार बिहान साढे ३ बजे काठमाडौं महानगरपालिका९१४, कलंकीबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

399 shares