दुर्घटनामा एक जनाको मृत्यु

210 shares

काठमाडौँ । झापाको कमल गाउँपालिकामा सिटी रिक्सा र मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ। कमल–६ गुवाबारीस्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे१ह २४२३ नम्बरको सिटी रिक्सा र विपरीत दिशाबाट जाँदै गरेको को३८प १२८३ नम्बरको मोटरसाइकल बिहीबार एकापसमा ठोक्किर दुर्घटना भएको थियो।

सो दुर्घटनामा टाउकामा चोट लागेर गम्भीर घाइते भएका मोटरसाइकल चालक कमल–६ का २४ वर्षीय रोशन कोइरालाको शुक्रबार दिउँसो ३ बजे उपचारका क्रममा बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।

सोही मोटरसाइकल पछाडि सवार कमल–४ का १९ वर्षीय रेवत सुवेदीको न्युरो अस्पताल विराटनगरमा, कमल–७ का २१ वर्षीय भविन मगरको बिर्तामोडस्थित बीएन्डसी अस्पताल र सिटी रिक्सामा सवार कमल–५ की ६५ वर्षीया सुकमाया माझी एड्भान्स अस्पताल दमकमा उपचार भइरहेको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल, सिटी रिक्सा र सिटी रिक्सा चालक कमल–६ का ५२ वर्षीय दिलमान माझी प्रहरीको नियन्त्रणमा रहेको र घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

210 shares