‘ब्रह्मास्त्र’ को धमाकेदार कमाई

602 shares

शुक्रबारदेखि सिनेमाघरमा रिलिज भएको रणवीर कपुर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्र’ ले समीक्षकबाट राम्रै प्रतिक्रिया पाएको छ । फिल्मको पहिलो दिनको बक्स अफिस कलेक्सन आइसकेको छ । जसमा चलचित्रले एकै दिनमा धमाकेदार कमाई गरेको प्रष्ट देखिन्छ ।

केही समयदेखि ठूला चलचित्रहरू बक्स अफिसमा नराम्ररी फ्लप भइरहेका छन् । विजय देवरकोंडाको ‘लाइगर’ ले पनि राम्रो प्रदर्शन गर्न सकेन । यस्तो अवस्थामा सबैको नजर ’ब्रह्मास्त्र’ माथि अड्कियो । निर्माता र यससँग सम्बन्धित सबैले आफ्नो फिल्मले अचम्मको काम गर्ने आशा गरेका छन् । तर, रिलिज हुनुअघि नै सामाजिक सञ्जालमा यसको बहिष्कार हुन थाल्यो । यसका बावजुद ब्रह्मास्त्रले पहिलो दिन नन होलिडेमा कुल ३५–३६ करोडको व्यापार गरेको छ ।

‘बक्स अफिस इन्डिया’ को रिपोर्ट अनुसार यो भारतभरको कमाइ हो । कार्य दिनमा यस्तो उपलब्धि हासिल गर्ने अन्तिम फिल्म ‘बाहुबली–द कन्क्लुजन’ थियो । हिन्दी, मलयालम, कन्नड, तमिल र तेलुगु भाषामा रिलिज भएको ब्रह्मास्त्रको उद्घाटन दिनसँगै सबैले ठूलो कमाईको अपेक्षा गरेका छन् । पौराणिक विज्ञान कथामा आधारित यस चलचित्रको बजेट करिब ४०० करोड भारु रहेको छ । यस्तो अवस्थामा पहिलो दिन बम्पर कलेक्सन गरेमा लगानी गरेको रकम कमाउन नसक्ने कुरालाई नकार्न सकिँदैन ।

‘ब्रह्मास्त्र’ देशका ५ हजार स्क्रिन र विश्वभर ८ हजार स्क्रिनमा रिलिज भइसकेको छ । अर्कोतर्फ रणवीर कपुरका अन्य फिल्मको ओपनिङ डेको कुरा गर्दा ‘सञ्जु’ ले ३४.१९ करोडको कलेक्सन गरेको थियो । बेशरमले १९.८७ करोड, ये जवानी है दिवानीले १९.४२ करोड, ए दिल है मुश्किलले १३.०४ करोड र रकस्टारले ९.९२ करोड कलेक्सन गरेको थियो । (–एजेन्सीहरुको सहयोगमा)

602 shares