असोज १ गतेदेखि सार्वजनिक क्षेत्रमा धुम्रपान निषेध
वि.सं.२०७९ भदौ ३० बिहीवार ०९:४६
काठमाडौं महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र धुम्रपान गर्न निषेध गरेको छ । महानगरपालिकाले आज सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट सेवनमा निषेध गरेको छ । महानगरले बिडी, सिगार, तमाखु, सुल्झा, कक्कड, कच्चा सुर्ती, खैनी खुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको जनाएको छ ।
सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने ऐन, २०६८ को दफा ४ मा सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थको सेवन गर्न नपाइने व्यवस्था रहेको छ भने दफा ५ मा सार्वजनिक निकायलाई धुम्रपान तथा सूर्ति सेवन निषेधित क्षेत्र तोक्नुपर्ने व्यवस्था छ।
सार्वजनिक स्थललाई धुम्रपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गरेको छ । कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका हिसाबले काठमाडौं महानगरपालिकालाई धुमपान तथा सुर्तीजन्य पदार्थमुक्त क्षेत्र बनाउनको लागि जारी भएको सूचना अटेरी गर्नेलाई कारबाही र जरिवाना तिराइने समेत सूचनामा उल्लेख छ ।
वि.सं.२०७९ भदौ ३० बिहीवार ०९:४६