महानगरविरुद्ध व्यापारीको प्रदर्शन

1.47K shares

काठमाडौं । फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै फुटपाथ व्यवसायीहरुले काठमाडौं महानगरपालिका घेराउ गरेका छन् । नेकपा एमाले निकट जिफन्टमा आबद्ध नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवाइमा फुटपाथ व्यवसायीहरुले बिहीबार विरोध प्रदर्शन गर्दै महानगर घेराउ गरेका हुन् । उनीहरुले विकल्प नदिई फुटपाथबाट व्यापारीलाई विस्थापन गरिएको भन्दै प्ले कार्डसहित प्रर्दशनमा उत्रिएका हुन् ।

महानगरले फुटपाथ र साना व्यवसायीहरूलाई विना सूचना निर्मम ढंगले लखेट्न खोजेकाले आफूहरू आन्दोलनमा उत्रिनु परेको संघले जनाएको छ । प्रदर्शनकारीहरुले गरिखान देऊ, स्वरोजगार श्रमिकलाई पञ्जिकरण गर, महानगरको ज्याजती बन्द गर, सडकमा व्यापार गर्नु रहर होइन बाध्यता हो, कि रोजगार देऊ कि स्वरोजगार हुन देउ, स्वरोजगार श्रमको सम्मान गर, लगाएतका प्लेकार्ड र नारा लगाएका थिए।

व्यापारीहरुले फुटपाथबाट गुजारा चलाईरहेको बताउँदै महानगरपालिकाले रोजिरोटी खोसिदिएको आरोप लगाएका छन् । बिहान–साँझ ६ बजेदेखि ८ सम्म व्यापार पाउनुपर्ने या कुनै ठाउँमा अल्पकालिन, दीर्घकालिन तरिकारले व्यवस्थित गरिदिनुपर्ने माग राखेका छन् ।

1.47K shares