राजेन्द्र मानन्धर बने एमाले दोलखाको कार्यवाहक अध्यक्ष

238 shares

दोलखा । नेकपा एमाले दोलखाको कार्यवाहक अध्यक्ष राजेन्द्र मानन्धर बनेका छन् । नेकपा एमाले उच्चस्तरीय निर्वाचन परिचालन कमिटी दोलखासँगको परामर्शमा जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठले जिल्ला कमिटी उपाध्यक्ष तथा प्रचार विभागका प्रमुख मानन्धरलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् ।

अध्यक्ष श्रेष्ठ दोलखा प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनेपछि मानन्धरले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् । नेकपा एमाले जिल्ला कमिटीका उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख समेत रहेका मानन्धर आगामी मंसिर चार गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रचार प्रसार समितिका संयोजक हुन् ।

दुई दशकसम्म पत्रकारिता क्षेत्रमा क्रियाशील मानन्धरले विगतमा अनेरास्ववियु दोलखाको अध्यक्षलगायत नेकपा एमाले दोलखाको विभिन्न कमिटीमा हरेक जिम्मेवारी पूरा गरेका छन् । नेपाल पत्रकार महासंघ दोलखाको अध्यक्ष, सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको सल्लाहकार जस्ता महत्वपूर्ण पदहरूमा रही प्रभावकारी कार्यसम्पादन गरिसकेका मानन्धर दोलखाका सफल व्यवसायीका रूपमा पनि चिनिएका छन् ।

238 shares