दोलखामा बुथ कब्जा गर्न सहयोग गर्ने कर्मचारी विरूद्ध मुद्दा हाल्ने एमालेको तयारी

483 shares

दोलखामा बुथ कब्जा गर्न सहयोग गर्ने कर्मचारी विरुद्ध मुद्दा दायर गरिने भएको छ । नेकपा एमाले दोलखाले यही मंसिर ४ गते भएको निर्वाचनमा बुथ कब्जा गराउन सहयोग गर्ने कर्मचारीविरुद्ध मुद्दा हाल्ने तयारी गरेको हो ।

एमाले बुथ कब्जाका लागि कानुनी पक्रिया मिलाई दिने र निर्वाचनको क्रममा सबै ठिक छ भनेर झुटा विवरण दिने र बुथ कब्जालाई सघाईरहने अधिकृहरूलाई जनमत खोस्ने मतियार कर्मचारी घोषित गर्ने र तथ्य प्रमाणसहित उनीहरू विरूद्ध मुद्दा दायर गर्ने तयारी भइरहेको दोलखाका कार्यवाहक अध्यक्ष राजेन्द्र मानन्धरले बताउनुभयो ।

त्यस्तै, मतदानस्थलमा प्रलोभन र सेटिङमा संलग्न भै कर्तव्य निर्वाह नगरी बुथ कब्जालाई सघाउने सुरक्षाकर्मीहरूको सबुत प्रमाणको आधारमा निर्वाचन द्रोही घोषणा गरी जनतामाझ सार्वजनिक गर्ने र हावी हुँदै गएको बुथ कब्जा संस्कृतिको अन्त्य गर्न निर्वाचन आयोगमा जनतासँग भएका प्रमाणहरू सम्प्रेषण गरिरहने पनि एमालेले रणनीति लिएको छ ।

यस्ता छन् एमाले दोलखाका १३ बुँदे रणनीतिः

१.कब्जा भएको बुथमा पुनः निर्वाचन गराएर जनतालाई आफ्नो मत आफैँ हाल्ने वातावरण निर्माण गराउन पहल जारी राख्नेछौं ।

२.स्वच्छ, निष्पक्ष, भयरहित र निर्वाचन आयोगको निर्देशन पालना नगर्ने दोलखा प्रशासन प्रमुख, सुरक्षा प्रमुखहरूको निर्वाचनको क्रममा कर्तव्य पालना बारेको भूमिका अध्ययन गर्ने र त्यही अनुसारको व्यवहार गर्दै जाने ।

३.मुख्य निर्वाचन अधिकृत र जिल्ला निर्वाचन कार्यालयको भूमिका सम्बन्धमा निर्वाचन प्रक्रिया शुरू भएदेखि निर्वाचनको सम्पूर्ण कार्य पूरा नभएसम्मका काम र गतिविधि अध्ययन गर्न टोली बनाउने र अध्ययनबाट आएको निष्कर्ष दोलखाली जनतालाई सार्वजनिक गर्दै जाने ।

४.संवेदनशील बुथमा मतदान अधिकृतहरू सेटिङ र भनसुनमा खटाईएको भन्ने कुराको खोजी गर्ने । कुन विधिबाट अधिकृत खटाइएको हो भन्ने कर्मचारी खटनपटन अधिकारीले जनतालाई जवाफ दिनुपर्ने आवाज उठाईरहने ।

५.बुथ कब्जा गराउन सहयोग गर्ने, कानुनी पक्रिया मिलाई दिने र निर्वाचनको क्रममा सबै ठिक छ भनेर झुटा विवरण दिईरहने तर बुथ कब्जालाई सघाईरहने अधिकृहरूलाई जनमत खोस्ने मतियार कर्मचारी घोषित गर्ने र तथ्य प्रमाणसहित उनीहरू विरूद्ध मुद्दा दायर गर्ने ।

६.मतदानस्थलमा प्रलोभन र सेटिङमा संलग्न भै कर्तव्य निर्वाह नगरी बुथ कब्जालाई सघाउने सुरक्षाकर्मीहरूको सबुत प्रमाणको आधारमा निर्वाचन द्रोही घोषणा गरी जनतामाझ सार्वजनिक गर्ने ।

७.दोलखामा बुथ कब्जा विषयमा पत्रकार, नागरिक समाज र बौद्धिक वर्गमा अध्ययन र बहसको विषय बनाईरहन माहौल बनाउने ।

८.सधैँ बुथ कब्जा हुने बदनामित ठाउँहरूको जनतालाई लोकतन्त्र र मताधिकारको विषयमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्ने ।

९.निर्वाचन आयोगलाई दोलखामा सुरक्षित निर्वाचनको उपाय निकाल्न सुझाव दिईरहने ।
१०.युवा पुस्तालाई लोकतन्त्रका असल संस्कार र राजनीतिमा सक्रिय गराउन अभियान सञ्चालन गर्ने ।

११.हावी हुँदै गएको बुथ कब्जा संस्कृतिको अन्त्य गर्न निर्वाचन आयोगमा जनतासँग भएका प्रमाणहरू सम्प्रेषण गरिरहने ।

१२.दोलखामा २०७९ मंसिर ४ गते कब्जा गरिएको बुथको सम्बन्धमा निर्वाचन आयोगको निर्णय कुर्ने ।

१३.निर्वाचन आयोगको निर्णयपछि थप धारणा सार्वजनिक गर्ने ।

483 shares