यी नेपाली फिल्मले फर्काउन सक्छन् हलमा दर्शक
वि.सं.२०८० पुस २७ शुक्रवार ११:४६
काठमाडौँ । यो वर्ष सकिन अब तीन महिनामात्र बाँकी छ । सदाझैँ यो वर्ष पनि नेपाली फिल्म क्षेत्रका लागि खासै सुखद् नरहने संकेत देखिएको छ । वर्षको अन्त्यतिर आइपुग्दा पाँचवटा फिल्मले मात्र लगानी उठाएर मुनाफा कमाउन सफल भएका छन् । वर्षको सुरुवातमा प्रदर्शनमा आएको जारी, नांगो गाउँ, परदेशी २, भष्मे डन र दिमाग खराबले मात्र बक्स अफिस र दर्शकको मन जित्न सफल रहे ।
तिहारपछि मंसिर र पुष महिनामा नेपाली फिल्म हलमानै लागेनन् । दुई महिना एकलौटी बलिउड फिल्मको राज चल्यो । पुष अन्तिममा दुई नेपाली फिल्म पर्खी बसेँ तिमीलाई र चित्रा रिलिज भए । माघ फागुन र चैत्रमा केहि आसलाग्दा फिल्महरु रिलिजको पर्खाइमा रहेका छन् ।
१. हात्तिछाप
सिमोस सुनुवारको निर्देशनमा बनेको फिल्म हात्तिछाप माघ २६ गतेबाट प्रदर्शनमा आउँदैछ । गत वर्षको हिट चलचित्र दुई नम्बरीका मेकरले निर्माण गरेको फिल्मले राम्रै कमाई गर्न सक्ने अनुमान लगाइएको छ ।
दयाहाङ राई, सौगात मल्ल, वेनिशा हमाल, उपासना सिंह ठकुरी जस्ता स्टार कलाकारले भरिएको फिल्मले दर्शकलाई हलसम्म तान्ने तागत राख्छ । हाल फिल्मको निर्माण टिम देशभर प्रचार प्रसारमा दौडिरहेका छन् ।
२. दयारानी
हात्तिछापसँगै दयाको अर्को फिल्म प्रदर्शनमा आउँदैछ दयारानी । फिल्ममा दयालाई दिया पुनले साथ दिएकी छन् । माओत्से गुरुङले निर्देशन गरेको फिल्मलाई सिनेमा आर्टस र माओत्से फिल्मसले निर्माण गरेको हो ।
फिल्मको कथाबस्तु राम्रो हुँदा फिल्म हलमा चल्न सक्ने देखिन्छ । तर, एउटै कलाकारको फिल्म एकै मितिमा प्रदर्शन हुँदा दर्शक कन्फ्युजनमा पर्न सक्छन् । फिल्मको कन्टेन्टले मात्र दर्शकलाई तान्न सक्छ ।
वर्षको सुरुवातमा दयाका दुई फिल्म एकसाथ प्रदर्शनमा आएका थिए । त्यसमा एक फिल्म फुलप र अर्को सुपरहिट भएको थियो ।
३. द अन ब्रेकेबल अगस्त्य : च्याप्टर १
केहि दिन अगाडि चलचित्र अगस्त्यको पोष्टर सार्वजनिक भएको थियो । फिल्मका मुख्य अभिनेता सौगात मल्लको क्यारेक्टर लुक्स देखेर सबै चकित भएका थिए । सौगात मल्ल आफैँमा अब्बल अभिनेता हुन् । तर, उनको सोलो हिट फिल्म भने खासै छैन । यस्तैमा अगस्त्य सौगातको लागि पनि टर्निङ पोइन्ट बन्न सक्छ ।
सौरभ चौधरीको निर्देशनमा बनेको फिल्म फागुन १८ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा सौगातसँगै नाजिर हुसेन, मलिका महत, विजय बराल, प्रमोद अग्रहरी लगायतका कलाकारको अभिनय रहेको छ ।
४. रंगेली
यो वर्ष महिनैपिच्छे दयाहाङ राइको फिल्म आउने कुरा नौलो रहेन । यस्तैमा उनको फागुन महिनामा रंगेली नामक फिल्म प्रदर्शनमा आउँदैछ । ग्याङस्टारको कथामा निर्माण हुने चलचित्र यो वर्षको अर्को प्रतिक्षित फिल्म हो । रंगेली मार्फत फेरी एकपटक दया र मिरुना मगरको जादु हेर्ने अपेक्षा दर्शकहरुको रहेको छ ।
फिल्ममा अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको छ । फिल्ममा दया र मिरुनाका अलवा अर्पण थापा, प्रविण खतिवडा लगायतका कलाकारको अभिनय रहनेछ । फिल्म फागुन २५ गतेदेखि महाशिवरात्रीको अवसर पारेर प्रदर्शनमा आउँदैछ ।
५. महाजात्रा
प्रदीप भट्टराईको सफल चलचित्र जात्रा सिरिजको तेस्रो पार्ट महाजात्रा चैत्र ९ गतेदेखि प्रदर्शनमा आउँदैछ । कमेडि जनराको फिल्ममा सामान्य मानिसको जीवनमा पैसाका कारण आउने उतारचढावलाई मिठो कमेडीका साथ पस्कन माहिर छन् निर्देशक भट्टराई ।
फिल्मका यसअगाडिका दुइटै पार्ट एकदम रुचाइएको थियो । फिल्मको तेस्रो पार्टमा कमेडीका महाराज हरिवंश आचार्य पनि अनुबन्धित भएका छन् । आचार्यको इन्ट्रिले फिल्म अझ विशेष हुने अनुमान गरिएको छ । फिल्ममा विपिन कार्की, रविन्द्र सिंह बाँनिया, रबिन्द्र झा, वर्षा राउत लगायतका कलाकारको अभिनय रहेको छ ।
वि.सं.२०८० पुस २७ शुक्रवार ११:४६