धमाधम कमब्याक गर्दै पुराना चर्चित कलाकारहरु

1.11K shares

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका एक समयका चर्चित कलाकारहरु पछिल्लो समय एक पछि अर्को गरि फिल्मि कर्ममा कमब्याक गर्ने थालेका छन् । बिचको केहि समय विभिन्न पेशा व्यवसाय, घर गृहस्थि, बैदेशिक रोजगारीमा रहेका कलाकारहरु फेरि चलचित्रमा फर्किने क्रम जारी छ ।

हाम्रो बाल्यकाललाई यादगार बनाउने कलाकारहरु फेरि फिल्ममा फर्कनु सुखद् कुरा हो । तर, सबैको कमब्याक सुखद नहुन पनि सक्छ । कमब्याक सफल हुन फिल्म पनि सफल हुनुपर्छ । त्यो त आगामि दिनहरुमा थाहा नै हुनेछ । अहिले भने हामि केहि कलाकारहरुको कमब्याकको बारेमा कुराकानि गर्नेछौँ ।

आर्यन सिग्देल

चकलेटि हिरोको छवि बनाएका आर्यनले थुप्रै सुपरहिट फिल्महरु दिएका छन् । उनको आकर्षक लुक्स र प्रेमिल क्यारेक्टरलाई पर्दामा दर्शकहरुले असाध्यै रुचाएका थिए । बिचको एक समय लभ स्टोरी फिल्म भन्ने बित्तिकै आर्यन सिग्देलको नाम अग्र पंक्तिमा आउँथ्यो । एक समयपछि उनको करिअर ग्राफ ह्वात्तै घट्यो ।

आर्यनले केहि एक्सन फिल्महरुमा पनि एक्सपेरिमेन्ट गरे । तर, उनको करिअर उकालो लाग्नै सकेन । पछिल्लो समय उनले कमब्याकको कोशिष पनि गरे । तर, सफल हुन सकेन । यस्तैमा उनले दिनेश राउतको ‘पूजार सार्की’ मार्फत कमब्याकको कोशिष गरेका छन् । अहिलेका चर्चित दुई नायक प्रदीप खड्का र पल शाहसँग उनले राउतको फिल्ममार्फत कमब्याक गर्नेछन् ।

राजबल्लभ कोइराला

‘पर्खि बसेँ’ मार्फत नेपाली चलचित्र क्षेत्रमा पाइला राखेका अभिनेता राज बल्लभ कोइरालाको सुरुवाती समय एकदमै राम्रो रहेको थियो । दर्शकले उनलाई राम्रो साथ दिइरहेका थिए । उनको फिल्मले बक्स अफिसमा पनि राम्रो गरिरहेको थियो ।

त्यहि बेला उनले ‘अपवाद’ जस्तो फिल्ममा आफ्नो अभिनयको रेन्ज देखाएका थिए । हलिउड फिल्मसम्म भ्याएका राज बिचमा चलचित्रबाट टाढा रहेका थिए । फेरि उनि कमब्याक गर्ने भएका छन् । चलचित्र ‘एक्टर’मार्फत उनले कमब्याक गर्न लागेका हुन् ।

विपना थापा

अभिनेत्री विपना थापा पनि फिल्ममा कमब्याक गर्ने भएकी छन् । १६ वर्षदेखि फिल्मबाट टाढा रहेकी थापाले ‘ह्रस्व दीर्घ’ नामक फिल्मबाट कमब्याक गर्ने भएकी हुन् ।

फिल्मि करिअर चलिरहेकै बेला विवाह बन्धनमा बाँधिएपछि थापा फिल्मबाट टाढा भएकी थिइन् ।

रेजिना उप्रेति

विपनाजस्तै समकालिन रेजिना उप्रेति पनि फिल्ममा कमब्याक गर्ने भएकी छन् । लामो समयदेखि फिल्मबाट टाढा रहेकी रेजिनाले ‘मोदिबेनी’बाट कमब्याक गर्ने भएकी हुन् ।

भर्खरै निर्माण घोषणा गरिएको फिल्मबाट उनले फेरि एकपटक दर्शकलाई मनोरन्जन प्रदान गर्नेछिन् । हाल फिल्मको वर्कसप चलिरहेको छ । ९ वर्षदेखि फिल्मबाट टाढा रहेकी रेजिनाको पछिल्लो फिल्म ‘वरदान’ थियो ।

रमित ढुंगाना

अभिनेता रमित ढुंगानाले पनि फिल्ममा कमब्याक गर्ने भएका छन् । लामो समयदेखि रमितको कमब्याकको कुरा चलेपनि सफल भएको थिएन । यस्तैमा उनले निर्देशन मार्फत फिल्ममा कमब्याक गर्न लागेका हुन् ।

उनले एसिड पिडितको कथामा ‘नमेटिने घाउ’ निर्माण तथा निर्देशन गर्ने भएका छन् । केहि दिनअगाडि मात्रै फिल्म निर्माणको घोषणा गरिएको छ ।

1.11K shares