कपिलमणि मृत्यु प्रकरणमा ५ जना पक्राउ

6.46K shares

काठमाडौँ । नेकपा (एमाले) दोलखाका जिल्ला कमिटी सदस्य कपिलमणि न्यौपानेको मृत्यु प्रकरणमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले छत्रराज उप्रेती, हरिबहादुर बुढा, महेन्द्र भुजेल, शिवकुमार कार्की र पुष्पाबहादुर लकाईलाई पक्राउ गरेको हो । पक्राउ पर्ने सबै दोलखा मेलुङ गाउँपालिका–१ मा रहेको सूर्योदय बचत तथा ऋण सहकारी लिमिटेडसँग सम्बन्धित रहेका छन् ।

न्यौपानेले शनिबार बिहान ५ बजे आत्महत्या गरेका थिए । उनि घर नजिकै आँपको रुखमा झुन्डिएको अवस्थामा फेला परेका थिए । उनको आत्महत्यापछि विभिन्न किसिमका प्रश्नहरु उठिरहेका छन् ।
गत माघ १५ मा राति न्यौपानेको घरमा सञ्चालित सूर्योदय सहकारीबाट ३२ लाख ८७ हजार चोरी भएको थियो । सो प्रकरणमा प्रहरीले ४ जनालाई पक्राउ गरेर अनुसन्धान गरयो । प्रहरीले न्यौपानेलाई पनि पक्राउ गरेको थियो तर, संलग्नता पुष्टि नभएपछि उनीसहित अन्यलाई पनि प्रहरीले रिहा गरेको थियो ।

न्यौपानेले आत्महत्या गर्नु अगाडि सामाजिक संजालमा सुसाइट नोट छाडेका थिए । उनले आफूलाई आत्महत्या दुरुत्साहन गर्नेको नाम पनि लेखेका थिए ।

यस्तो छ उनले लेखेको नोट – ‘सहकारी चोरीको घटना सञ्चालकले गरेको नाटक हो । यो वर्षौँदेखि बनाएको योजनाअनुसार मलाई फसाउन खोजिएको हो । सञ्चालकले खाएको ऋण र तिरेको भौचर अनुसार हेर्नु यसमा घोटाला छ । यससँगै मुकुन्द शोभित उप्रेती, पवित्रा बास्तोला, समिरा गौतम, अप्सरा खड्का, मुना कोइराला महेन्द्रको हात छ । मैले लिएको ऋण नरेलाई दिएको छ । मैले कुनै सामाजिक अपराध गरेको छैन, राम्ररी छानबिन गर्नु ।’

6.46K shares