अगस्त्य : ठुलो मौका गुमायो
वि.सं.२०८० फागुन २० आइतवार ०९:०२
सौगात मल्लको चरित्रको लुक्स सार्वजनिक भएपछि अगस्त्य च्याप्टर १ चर्चा ह्वात्तै चुलियो । दर्शकमा कौतुहतला सिर्जना गर्यो । त्यसपछि आएको टिजरले सबैतिर प्रशंसा बटुल्यो । सबैतिर अगस्त्यको चर्चा हुन थाल्यो । विशेष गरि फिल्मको एक्सनलाई लिएर चर्चा भयो । एकनाशको फिल्म हेरिरहेका नेपाली दर्शकका लागि फिल्म नौलो खुराक बन्न सक्ने अनुमान गरियो । त्यहि कुरालाई फिल्मको ट्रेलरले पनि निरन्तरता दियो ।
तर, फिल्मले दर्शकको आशालाई निराशामा परिणत गरिदिएको छ । ठुलो क्यानभासको फिल्म बनाउँन खोज्दा फिल्म टेलिसिरियल जस्तो बन्न पुगेको छ । फिल्मको पहिलो हाफ त दर्शकलाई टर्चर मात्र हुन्छ । पहिलो हाफ फिल्मका प्रमुख पात्र सौगात मल्ल (सौर्य) र नाजिर हुसेन (निसान) को चरित्रलाई स्थापित गर्नमै खर्च गरिएको छ ।
सौर्य मानसिक स्थिति गुमाएको अबस्थामा भारतमा भेटिन्छन् । उनि त्यहाँ भौतारिरहेका हुन्छन् । सौगातको मानसिक स्थिति गुमाएको चरित्रलाई स्थापित गर्न निर्देशकले अनावश्यक सिनहरु लम्ब्याएका छन् । उनको त्यो स्थितिमा सम्झनामा आइरहने मलिका महत (चाँदनी) को सिन बारम्बार अनावश्यक राखिदिँदा दर्शकलाई पट्यार लाग्ने देखिन्छ ।
पत्रहरुको इन्ट्रोमा फाइट सिन र स्लोमो सिनहरु लामो हुँदा पनि दर्शकहरु पात्रसँग कनेक्ट नै हुन सक्दैनन् । पात्रहरुप्रति दर्शकको जुन सामिप्यता विकाश हुनुपर्ने हो त्यसमा फिल्म चुकेको छ । चाँदनीको पात्र नर्सको भुमिकामा हुन्छिन् तर उनि कसरी प्रहरीलाई सघाउन अचानक तयार हुन्छिन् । उनको पात्रको चरित्र चित्रण उत्तिकै कमजोर देखिन्छ ।
फिल्मको मुख्य खलपात्र प्रमोद अग्रहरीको स्वरमा मात्रै वजन देखिन्छ । कमजोर डाइलग राइटिङ हुँदा उनको प्रस्तुतिसँग कनेक्ट नै हुन सकिदैन । फिल्मको पहिलो हाफ पात्रहरुको परिचय दिँदा र सौगातको विगतको बारेमा देखाउँदा नै सकिन्छ । कतिपय बेला त फिल्म हेरेको हो कि धारावाहीक सिरियल हेरेको थाहा नै हुन्न ।
फिल्मको दोस्रो हाफ भने दर्शकलाई थोरै भएपनि बाँध्न सफल हुन्छ । फिल्मको क्लाइमेक्सलाई दर्शकले मनपराउन सक्छन् ।
फिल्ममा धेरै ठाउँमा कमजोरी छन् । कमजोर पटकथा लेखन, क्लिसे डायलग, अनावश्यक व्याकग्राउण्ड म्युजिक । फिल्मको व्याकग्राउण्ड म्युजिक राम्रो छ । तर, जतिबेला पनि जहाँपायो त्यहि प्रयोग गर्न खोज्दा कतिपय ठाउँमा अनावश्यक लाग्छ । कतिपय ठाउँमा छ डायलग र लिप्सिङ नै मेल खाँदैनन् । फिल्मका कतिपय प्लटहरु सेन्सलेस खालका रहेका छन् । फिल्ममा एउटा सिन छ, सौर्यको पात्रलाई एउटा वर्गरको लागि मरनासन्न हुने गरि कुटिन्छ । त्यो पनि पुरै शहरमा लखेटि लखेटि ।
सौगात र नाजिरको काम देख्न सकिन्छ । शरिर बनाउने देखि लिएर पात्रलाई विश्वाशिलो बनाउने काममा उनिहरुको मेहनत पर्दामा देखिन्छ । तर, डायलग र सब प्लटहरुले त्यसलाई कतिपय ठाउँमा फिस्स बनाउँछ । मलिकाको चरित्र लेखननै कमजोर देखिन्छ । अर्को कुरा सौगात र मलिकाको केमेष्ट्रि दर्शकले कतै पनि विश्वास गर्ने किसिमको नै देखिन्न ।
फिल्मको राम्रो पक्ष भनेको एक्सन नै हो । साउथ इन्डियन फिल्म हेर्ने बानि भएको दर्शकलाई यसले खासै नछुन सक्छ । बलिउड र साउथका एक्सन फिल्म हेर्न बानि भएका दर्शकका लागि एक्सन सिनहरु नयाँ छैनन् । तर, आम दर्शकका लागि भने यो नयाँ खुराक बन्न सक्छ । नेपाली फिल्ममा यस प्रकारको एक्सन सिनहरु देख्न पाइदैँन ।
सौगात मल्लको ह्यान्ड टु ह्यान्ड सिन र चक्कुको एक्सन सिन राम्रोसँग कोरियोग्राफि गरेर बनाइएको छ । निर्देशक सौरभ चौधरी र द्वन्द निर्देशकले एक्सनमा भने गर्न खोजेका काम भने दर्शकले अनुभुत गर्न सक्छन् । त्यस्तै, फिल्मको सिनेम्याटोग्राफि पनि एकदमै राम्रो रहेको छ ।
समग्रमा ठुलो क्यानभासमा धेरै सिनहरु अटाउन नखोजेको भए र पटकथा र संवादमा अलिकति मेहनत गरेको भए फिल्म यादगार बन्न सक्थ्यो । त्यसमा भने फिल्म चुकेको छ । नेपाली फिल्मलाई नयाँ दिशा दिने मौका भने फिल्मले गुमाएको छ ।
तर, पछिल्लो समय एकनासका फिल्महरु आइरहेको बेला निर्माण टिमले केहि नयाँ गर्न इमानदार कोशिस गरेको देखिन्छ । दर्शकहरुले एकपटक हेर्न पर्ने फिल्म हो अगस्त्य ।
वि.सं.२०८० फागुन २० आइतवार ०९:०२