किन चर्चामा छैन दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’ ?

वि.सं.२०८१ असार २६ बुधवार ११:५२

काठमाडौँ । पछिल्लो समयको सर्वाधिक रुचाइएको र सफल जोडि हो, अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको । यो जोडिको ‘कबड्डि ४’, ‘जारी’ र ‘नांगो गाउँ’ लगातार बक्सअफिसमा हिट भएपछि ब्लकबस्टर जोडि समेत भनियो । दया र मिरुनालाई लिएर फिल्म साइन गर्ने निर्माताको लाइन नै लाग्यो । तर, केहि समययता यो जोडिको फिल्मले राम्रो गर्न सकिरहेको छैन ।
यी दुईको गत वर्षको फागुनमा रिलिज भएको ‘रंगेली’ फ्लप हुन पुग्यो । गत बैशाखमा प्रदर्शनमा आएको ‘मनसरा’ले पनि निराश बनायो दर्शकलाई । लगातार हिट फिल्म दिइरहेको जोडिले लगातार फ्लप फिल्म दिन पुगे । यस्तोमा यो जोडिको अग्निपरीक्षाको रुपमा आगामी शुक्रबारबाट ‘घरज्वाइँ’ प्रदर्शनमा आउँदैछ ।
फिल्मको टिजर, ट्रेलर र गीतसमेत सार्वजनिक भइसकेको छ । मंगलबार फिल्मको प्रिमियर समेत सम्पन्न भइसकेको छ । प्रिमियरमा फिल्मको बारेमा बोलिदिने कलाकारको कमि देखिन्थ्यो । बोल्नेहरुले राम्रो सांस्कृतिक फिल्म बनेको छ भनेर भनिदिए । प्रिमियरमा अतिथिहरुले दिने प्रतिक्रियाको आजकल विश्वास खासै गरिँदैन ।
फिल्मको टिजर, ट्रेलर र गीतले खासै राम्रो प्रतिक्रिया पाउन सकेन । सार्वजनिक प्रचार सामग्रीहरुमा दर्शकको उत्साहजनक प्रतिक्रिया कमै देखिन्छ । ‘जारी’ र ‘कबड्डि’ जस्तो ब्लकबस्टर फिल्म दिएको जोडि घरज्वाइँसम्म आइपुग्दा किन यो अवस्थामा पुगे त ?
दयाहाङको महिनैपिच्छे फिल्म
दयाहाङ राई पछिल्लो समयका सर्वाधिक डिमान्डेड अभिनेता हुन् । उनलाई लिएर फिल्म बनाउने मेकरहरुको लामै लाइन छ । अझै केहि समय उनको व्यस्तता यस्तै देखिनेछ । प्रत्येक महिना उनका एक फिल्म त अनिवार्य जस्तै भएको छ । कतिपय अवस्थामा त एकैदिन उनका दुई फिल्म पनि रिलिज भए । गत वर्ष ‘जारी’सँग ‘विहेपास’ र ‘दयारानी’सँग ‘हात्तिछाप’ एकैदिन जुध्न पुगे ।
दयालाई फिल्मको चापले प्रचारप्रसारमा पनि समय मिलाउन गाह्रो परिरहेको थियो । आफ्नै फिल्मको प्रिमियरमासमेत उनि उपस्थित हुन नसक्ने स्थिति बन्यो । गत माघयता मात्रै उनको ६ वटा फिल्म प्रदर्शनमा आइसकेका छन् । माघमा ‘दयारानी’ र ‘हात्तिछाप’, फागुनमा ‘रंगेली’, चैत्रमा ‘डिग्री माईला’, वैशाखमा ‘मनसरा’, जेठमा ‘गाउँ आएको बाटो’ प्रदर्शनमा आए । यी मध्ये ‘गाउँ आएको बाटो’ले मात्रै प्रशंसा र बक्सअफिसमा ठिकै व्यापार गर्यो । अन्य फिल्महरुले निराश बनाए ।
महिनैपिच्छे दयाका लगातार फिल्म आइरहेकाले पनि दर्शकमा ‘घरज्वाइँ’को चर्चा धेरै हुन नसकेको अनुमान गर्न सकिन्छ ।
एकै खालको चरित्र निर्वाह गरेको आरोप
दयालाई पछिल्लो समय एकैखालको चरित्र निर्वाह गरेको आरोप लाग्ने गरेको देखिन्छ । उनका पछिल्ला फिल्महरु आदीवासी जनजातिको कथामा धेरै बनेकाले पनि दर्शकलाई यस्तो लागेको हुनसक्छ । यसमा दयाहाङ पनि सहमत देखिन्छन् । उनले भनेका छन्, ‘आफु तेहि समुदायको भएकाले चरित्रहरु सुहाउँछ । सकेसम्म धेरै आदीवासी जनजाति समुदायको कथामा काम गर्न मन छ ।’
उनले राई र गुरुङ पात्रहरुमा धेरै अभिनय गरेका छन् । मगर समुदायको कथामा उनले पहिलोपटक काम गरेका हुन् । जुनसुकै समूदायको भएपनि हरेक पात्रको चरित्र फरक हुने दया बताउँछन् । तर, दयाले बताएको कुरा र दर्शकको अपेक्षामा मेल हुन सकिरहेको छैन । यसर्थ, पछिल्लो समय उनले जता गएपनि खेप्नुपरेको प्रश्न हो, ‘एकै खालको चरित्र कहिलेसम्म ?’
यी सबै चुनौतिको बिचमा शुक्रबारबाट ‘घरज्वाइँ’ प्रदर्शनमा आउँदैछ । दया र मिरुनालाई आफ्नो ब्लकबस्टर जोडिको ट्याग बचाउन दबाब देखिन्छ । अनिल बुढामगरको निर्देशनमा बनेको फिल्ममा मगर समुदायको घरज्वाइँ प्रथा र त्यसमा आउने उतार चढावलाई देखाइएको छ ।
जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

वि.सं.२०८१ असार २६ बुधवार ११:५२