‘घरज्वाइँ’लाई सुखद शोज, फिल्म चलाउनै पर्ने दबाबमा दया र मिरुना
वि.सं.२०८१ असार २७ बिहीवार ०९:२०
काठमाडौँ । भोली शुक्रबारबाट प्रदर्शनमा आउन लागेका चलचित्र ‘घरज्वाइँ’लाई सुखद शोज प्राप्त भएको छ । फिल्मको बुधबारबाट बुकिङ खुला भइसकेको छ ।
अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर स्टारर फिल्मलाई मल्टीप्लेक्सहरुमा पर्याप्त शोज दिइएको छ । सोलो रिलिज हुने भएकालेपनि फिल्मले सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ ।
फिल्मलाई देशकै ठूलो मल्टीप्लेक्स चेन क्युएफएक्सले ५७ शोज, दोश्रो ठुलो चेन आईएनईले १३ शोज, तेश्रो ठुलो चेन वान् सिनेमाज्ले ९ शोज उपलब्ध गराएका छन् । अन्य बिग मुभिज, एफक्युब, बिएसआर, विश्वज्योति सिनेमाज्, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज्, कीर्तिपुर सिनेमाज् जस्ता मल्टीप्लेक्सहरुले पनि राम्रै शोज प्रदान गरेका छन् ।
फिल्मले कस्तो ओपनिङ गर्ला भन्ने सबैतिर चासोको विषय बनेको छ । दया र मिरुनाको जोडि पछिल्लो समयको सर्वाधिक हिट जोडि हो । पछिल्लो समय ‘रंगेली’ र ‘मनसरा’ले सन्तोषजनक व्यापार गर्न नसकेपनि दया र मिरुना ‘घरज्वाइँ’बाट आशावादी देखिएका छन् । फिल्म चलाउनै पर्ने दबाबमा दया र मिरुना देखिएका छन् ।
मगर समुदायको कथामा निर्माण भएको फिल्मलाई अनिल बुढामगरले निर्देशन गरेका छन् । फिल्ममा दया र मिरुनाको साथमा शिशिर वाङ्गदेल, कविता आले, पुष्कर गुरुङ, बुद्धि तामाङ, भोलाराज सापकोटा, खड्कबहादुर पुन ९खबपु०, राज थापा, शिला आले, अनु थापा, बिना थापा मगर, विवेश बुढा मगर, सोनाम लामा लगायतका कलकारको अभिनय रहेको छ ।
वि.सं.२०८१ असार २७ बिहीवार ०९:२०