‘नम्बरी सुन’ फिल्म हेर्ने १२ जना दर्शकलाई सुन उपहार
वि.सं.२०८१ साउन १ मंगलवार ०५:०७
काठमाडौँ । आगामी साउन २५ गतेबाट प्रदर्शनमा आउने फिल्म नम्बरी सुनले प्रचारप्रसारलाई तिव्र बनाएको छ । फिल्मका प्रचार सामग्रीहरु सार्वजनिक भइरहेको छ । यहि क्रममा निर्माण टिमले सोमबार ललितपुरमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको थियो ।
निर्माण टिमले फिल्म हेर्ने १२ जना दर्शकलाई सुन उपहार दिने घोषणा गरेको छ । फिल्मका प्रस्तुतकर्ता नारायण खातीले १२ जना दर्शकलाई सुन उपहार दिने घोषणा गरेका हुन् । खल्ती एपबाट फिल्मको टिकट काट्ने ५ जना र अन्यत्रबाट टिकट काट्ने ७ जनालाई सुनको मोतीवाला चन्द्रहार पुरस्कार दिने घोषणा गरेका हुन् ।
पत्रकारहरुसँग कुरा गर्दै निर्माण टिमले ७० वर्षअगाडि घर–घर पुगेर सुन बनाउनेको कथामा फिल्म निर्माण गरिएको बताए । फिल्मलाई मनोरन्जनात्मक हिसाबले निर्माण गरिएकाले दर्शकले मनपराउनेमा निर्माण टिम आशावादी देखिएको छ ।
नायिका नम्रता सापकोटाले आफूले गाउँले युवतीको भूमिका निर्वाह गरेको बताइन् । मायाको लागि आफ्नो पात्र जोसँग पनि लड्न तयार रहने बताइन् ।
राजु गिरीको निर्देशनमा बनेको फिल्ममा गौरव पहारी, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरी लगायतका कलाकारको अभिनय रहेको छ ।
सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा शिवम् अधिकारको पटकथा तथा संवाद रहेको छ । फिल्मका निर्माता सरोज खाती, सविन खाती र मनोज रिजाल हुन् ।
वि.सं.२०८१ साउन १ मंगलवार ०५:०७