विवादास्पद छविका असगर अली प्रधानमन्त्रीको आईटी विज्ञ नियुक्त
वि.सं.२०८१ साउन १३ आइतवार ०९:४२
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सूचना प्रविधि (आईटी) विज्ञको रुपमा असगर अली नियुक्त भएका छन् । अली सूचना प्रविधि विद्का रुपमा पनि परिचित छन् । यसअगाडि पनि ओली प्रधानमन्त्री हुँदा अली सूचना प्रविधि विज्ञ थिए ।
ओलीको विश्वासपात्र मानिने अलीको सार्वजनिक छवि भने विवादास्पद रहेको छ । पदको दुरुपयोग गर्दै अनाधिकृत रुपमा सरकारी सूचना संकलन गर्ने, न्युज पोर्टक ह्याक गर्ने देखि बिटक्वाइनको धन्दा गर्ने जस्ता विवादास्पद कामहरुमा अली मुछिएका छन् ।
यसअगाडि ओली प्रधानमन्त्री हुँदा उनले सरकारी कार्यलयहरुमा अनाधिकृत रुपमा दवाव दिएर सूचना मागेको आरोप लागेको थियो । आम नागरिकका संवेदनशील र गोप्य विवरणहरु उपलब्ध गराउनका लागि राहदानी विभाग, श्रम विभाग, यातायात व्यवस्था विभाग, राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र, अध्यागमन, निर्वाचन आयोग, गृह मन्त्रालय, सँ वैदेशिक रोजगार विभाग, केन्द्रीय पञ्जीकरण विभाग लगायतका निकायलाई दबाब दिएको कुरा बाहिरिएको थियो । यी निकायहरुसँग नागरिकका नागरिकता, पासपोर्ट, ड्राइभिङ लाइसेन्स लगायतमा राखिएका डाटाहरु हुने गर्दछन् ।
उनिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको थियो । आयोगले अलीलाई कारबाही गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्राचार गरेपनि शक्तिको आडमा उनिमाथि कुनै छानविन नै भएन ।
उनै अलीलाई फेरि ओलीले विज्ञमा नियुक्त गरेका छन् । अली इसेवाका सिइओ समेत हुन् ।
वि.सं.२०८१ साउन १३ आइतवार ०९:४२