मोदीबेनी : आउटडेटेड फिल्म
गाउँमा हुर्केका अधिकांशले सुनेको कथा हो, मानिसको मृत्यु भएपछि लास उठेर हिँड्छ भन्ने । आत्मा बनेर बदला पनि लिन्छ भन्ने कयौँ कथाहरु सबैले सुनेको हुनुपर्छ ।
वि.सं.२०८१ साउन २० आइतवार ०६:०८
कठमाडौँ । नेपाली चलचित्रको मुख्य समस्या कथा हुने गरेको छ । कथा, पटकथा र संवादमा नेपाली फिल्म मेकरहरु सँधै नै चुक्ने गरेका छ । फिल्म निर्माण घोषणादेखि ठुलै हल्लाखल्ला गरेर मैदानमा उत्रिन्छन् । महिनौँ लगायर फिल्म निर्माण गर्छन् । तर, रिजल्ट सोचेजस्तो हुन सक्दैन । हलमा लागिसकेपछि प्राय फिल्मको कथा र मेकिङमै मेकरहरु चुक्ने गरेका छन् ।
फिल्म निर्माणको निस्चित बिधि छैन् । प्रत्येक निर्देशकको कथा भन्ने आफ्नै शैलि छ । परम्परागत शैलीलाई वा भनौँ चलिआएको शैलीलाई भत्काएर मेकिङ गर्ने निर्देशक प्रसस्तै भेटिन्छन् । तर, केहि फिल्महरु पुरानै शैलीमा बनिरहेका हुन्छन् । ति फिल्मका कथा पनि पुरानै हुन्छन् भने मेकिङ पनि पुरानै । यस्तै फिल्म बन्न पुगेको छ शुक्रबारबाट प्रदर्शनमा आएको ‘मोदीबेनी’ ।
कथा
फिल्मको कथा कुनै नयाँ छैन । दुई समयको कथा फिल्ममा देखाइएको छ । कथा कुन समयको हो भन्ने कुरा फिल्ममा स्पष्ट छैन । फिल्ममा एक ठाउँमा निलम निहारीका कार्कीको योगमाया भन्ने किताब देखाइएको छ । किताब २०७४ सालमा प्रकाशित भएको थियो । यो हिसाबले मान्ने हो भने फिल्मको सुरुवातको कथा २०५३ /५४ सालतिरको हुनुपर्छ । फिल्मको एक ठाउँमा पुर्णिमा (वर्षा शिवाकोटी ) २० वर्ष कटेपछि ठुलो खड्को आउँछ भन्ने संवाद छ । यहि दुई घटनालाई आधार मानेर फिल्मको कथा यहि समय वरिपरिको हो भन्ने थोरै अनुमान लगाउन सकिन्छ ।
गाउँमा हुर्केका अधिकांशले सुनेको कथा हो, मानिसको मृत्यु भएपछि लास उठेर हिँड्छ भन्ने । आत्मा बनेर बदला पनि लिन्छ भन्ने कयौँ कथाहरु सबैले सुनेको हुनुपर्छ । निर्माण टिमको अनुसार फिल्मको कथा वास्तविक घटनामा आधारित छ । यहि स्टोरी लाईनलाई लिएर फिल्मको कथा घुमेको छ ।
अभिनय
फिल्मको मुख्य भूमिकामा वर्षा शिवाकोटी र अमर प्रताप श्रेष्ठ रहेका छन् । फिल्ममा सरोज खनाल, रेजिना उप्रेति, प्रविण खतिवडा, जीवन भट्टराई, कमलमणि नेपाल, दिलिप केसी, स्नेहा भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्ममा केहि कलाकारको अभिनय औशत रहेको छ । अधिकांशको अभिनय लाउड रहेको छ । वर्षाको अभिनय रुटिन जस्तै देखिएको छ । सरोज खनाललाई पछिल्लो समय निर्देशकहरुले एकै खालको पात्रहरुमा सिमित गरिदिएका छन् । उनको अभिनयमा नयाँ केहि छैन । अमर प्रतापको यो डेब्यू फिल्म हो । उनले कोशिष गरेका छन् । प्रविण खतिवडा, जीवन भट्टराई, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय लाउड लाग्न सक्छ ।
गीत संगीत
फिल्मको गीत संगीत पनि औशत किसिमकै छन् । मन्जुरी बोलको गीत अलिक मिठो सुनिएको छ ।
बिजिएम
फिल्मको व्याकग्राउण्ड म्युजिकमा त्यस्तो खासै केहि छैन ।
सिनेम्याटोग्राफि
फिल्मको सिनेम्याटोग्राफि औशत नै छ । केहि ठाउँहरुमा भने ठिकै देखिएको छ ।
आउटडेटेड फिल्म
पहिलो कुरा त फिल्म कुन जनरामा बनेको हो दर्शकले थाहा पाउनै मुस्किल छ । मुल कथा के हो ? भन्ने कुरा हलबाट दर्शक निस्किएपछि पनि थाहा पाउँदैनन् । कतै कतै प्रेम कथा हो कि जस्तो । कतै हरर फिल्म हो कि जस्तो । कतै सामाजिक कथा पो हो कि जस्तो । के हो के हो जस्तो छ फिल्मको कथा । पटकथा र संवाद उस्तै छन् । अविस्वासनिय प्लटहरु फिल्ममा राखिएको छ ।
अभिनय आज भन्दा २० वर्ष अगाडि यहि किसिमको फिल्म, यस्तै अभिनयमा बनाइने गरिन्थ्यो । हामिले त्यो बेलाका फिल्महरु हेर्दा थाहा हुन्छ । त्यसबेलाका हिसाबले ठिकै थियो होला । तर, २०८१ मा आइपुग्दा त्यहि खालको मेकिङ, उस्तै खालको अभिनय, खुट्याउनै नसक्ने कथा हेर्दा निर्देशकले दर्शकको आजको फिल्म प्रतिको दृष्णिकोणलाई अवमूल्यन गरेको देखिन्छ ।
आजका दर्शकहरु थोरैमा हिन्दि फिल्म, धेरैमा अन्तराष्ट्रिय जगतका, अन्य भाषाका केहि फिल्महरु हेरिसकेका छन् । यस्तोमा निर्देशक दर्शकको मनोविज्ञान बुझ्नमा चुकेका छन् । यो मोदीबेनी टिमको मात्र समस्या हैन । अन्य फिल्मका निर्देशकहरु(अपवाद बाहेक)को पनि यस्तै खालको समस्या देखिन्छ ।
फिल्ममा नयाँपन केहि पनि छैन । आनन्द विक्रम क्षेत्रीको कथा रहेको फिल्मलाई शंकर कोइरालाले निर्देशन गरेका छन् ।
समग्रमा ‘मोदीबे’नी आउटडेटेड र ओभरएक्टिङले भरिएको फिल्म हो ।
वि.सं.२०८१ साउन २० आइतवार ०६:०८