दशैँमा दीपकराज गिरी भर्सेस जितु नेपाल

वि.सं.२०८१ साउन २९ मंगलवार ०६:२८

काठमाडौँ । कलाकार दीपकराज गिरी र जितु नेपाल एकै पुस्ताका कलाकार हुन् । दुवैको करियरको सुरुवात हास्यव्यंग्य क्षेत्रबाट भयो । टेलिभिजन सिरियल हुँदै फिल्ममा आइपुगेका दीपक र जितुको मित्रताको कहानी लामै छ । हाल सम्बन्धमा चिसोपन आइरहेको बेला, एकपटक आमने सामने हुने भएका छन् ।
दुवैको फिल्म एकै मितिमा आउने भएको छ । दीपकको ‘छक्का पन्जा ५’ ले यसअगाडि नै दशैँको फुलपातिमा रिलिज हुने भनेर मिति तोकिसकेको थियो । यस्तोमा जितुको ‘ज्वाइँसाव’ले पनि आज फर्स्टलुक पोष्टर सार्वजनिक गर्दै सोहि मिति रोजेको छ ।
जितु ‘छक्का पन्जा’को महत्वपुर्ण कलाकार भएर काम गरिसकेका छन् । टिमसँग असहमति भएपछि त्यहाँबाट अलग्गिएका उनि एक्लै फिल्महरुमा काम गरिरहेका छन् । उता ‘छक्का पन्जा’ मा पुरानै टिमका केहि सदस्यहरु रहेका छन् ।
‘छक्का पन्जा ५’ लाई दीपाश्री निरौलाले निर्देशन गरेकी छन् । फिल्ममा दीपकराज, केदार घिमिरे, वर्षा शिवाकोटी लगायतका कलाकारहरुको अभिनय रहेको छ । स्टार कलाकार र ब्राण्ड भ्यालुका कारण फिल्मलाई यो वर्षकै प्रतिक्षित फिल्म भन्नेहरुको लामै लर्को छ । यता बसन्त निरौलाको निर्देशनमा बनेको ‘ज्वाईँ साब’मा जितुको साथमा, नीति शाह, बुद्धि तामाङ, हिमेश पन्त लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म चलाउनैपर्ने दबाब जितु सामु देखिएको छ ।
एकातिर सफल फ्रेन्चाइजी अर्कोतिर जितु एक्लै । सामान्य आँकलन गर्ने हो भने पनि छक्का पन्जा टिमको पल्ला भारी देखिन्छ । सायद, यो वास्तविकताबाट ‘ज्वाईँ साब’को टिम पनि अनभिज्ञ छैन । यस्तोमा दर्शकले कुन फिल्मलाई माया गर्छन् हेर्न असोज २४ भने पर्खनैपर्छ ।

वि.सं.२०८१ साउन २९ मंगलवार ०६:२८