‘पिताम्बर’मा प्रदीप,दयाहाङ, सौगात र आर्यन
वि.सं.२०८१ भदौ ६ बिहीवार ११:००
काठमाडौँ । कृषा चौलागाइको निर्देशनमा बन्न लागेको चलचित्र ‘पिताम्बर’मा कलाकारको ताँति लागेको छ । फिल्ममा धमाधम कलाकार अनुबन्धित भइरहेका छन् । अब फिल्ममा पछिल्लो समयका चर्चित कलाकार प्रदीप खड्का, दयाहाङ राइ, सौगात मल्ल, आर्यन सिग्देल एकसाथ देखिने भएका छन् ।
फिल्ममा दयाहाङ र प्रदीप पहिलोपटक सहकार्य गर्न लागेका हुन् भने प्रदीपले सौगातसँग पहिलोपटक काम गर्दैछन् । आर्यनसँग भने दयाको यो तेश्रो फिल्म हो । यसअगाडि ‘मेरो एउटा साथि छ’ र ‘लोफर’मा सहकार्य गरेका थिए । सौगातले पनि आर्यसँग सहकार्य गरिसकेका छन् ।
एक्सन रिभेन्ज फिल्ममा अन्य कलाकारको लाइनअप पनि बलियो छ । फिल्ममा आँचल शर्मा, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्य देव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारी, रविन्द्र झालगायतका कलाकारहरूले पनि अभिनय रहेको छ । पछिल्लो समयका चर्चित कलाकार एकै फिल्ममा हेर्न पाउनु दर्शकका लागी पनि राम्रो अनुभव हुनेछ । तर, यति धेरै कलाकारलाई निर्देशकले कसरी प्रस्तुत गर्नेछिन् त्यो भने चासोको विषय बनेको छ ।
फिल्मको छायाँकन आउँदो सोमबारदेखि सुरू हुनेछ । निर्माण टिम काठमाडौँमा छायांकन गरेर नवलपसारी पुग्नेछ । फिल्मलाई केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गरेर निर्माण गर्न लागिएको हो ।
प्रदीप भारद्वाजको लेखन रहेको फिल्मका छायांकार पुरुषोत्तम प्रधान हुन्। ५ करोड बजेट बताइएको फिल्मको निर्माता विशाल चौलागाई हुन् ।
वि.सं.२०८१ भदौ ६ बिहीवार ११:००