ओली र नेपालका कारण फिल्म फ्लप भएको रमितको आरोप

वि.सं.२०८१ भदौ १७ सोमवार १०:४३

काठमाडौँ । अभिनेता तथा निर्देशक रमित ढुंगानाको निर्देशनमा बनेको नमेटिने घाउ बक्सअफिसमा नराम्रोसँग पछारिएको छ । भदौ ७ गतेबाट प्रदर्शन भएको फिल्मले पहिलो दिन नै दम तोडेको थियो ।
फिल्म चलाउनका लागि उनले नेताहरुलाई समेत कास्ट गरे । तर, तिनै नेताहरुको कार्यकर्ताले समेत फिल्म हेरिदिएनन् । एसिड पिडितको कथा आफैँमा गम्भिर विषय भएपनि कथालाई त्यो गम्भिरताको साथ उठाउन नसक्दा फिल्मप्रति दर्शकको चासो नै बढेन ।
फिल्मको लागत २ करोड बताइएको छ । तर, फिल्मले खाजाको पनि पैसा उठाउन सकेन । फिल्ममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, पूर्वमन्त्री देवेन्द्र पौडेल, राप्रपाका सांसद ज्ञानेन्द्र शाही लगायतका नेताहरुलाई रमितले खेलाएका थिए । नेताहरुको लर्को भएको कारण पनि फिल्म चर्चामा थियो । रमित पनि बाठो भएर मुख्य कलाकारको जस्तै गरि ओली र नेपालको फोटो राखेर प्रचार गर्न भ्याए ।
तर, अहिले रमितले उनै नेताहरुका कारण फिल्म नचलेको आरोप लगाएका छन् । फिल्मको प्रचार सामग्री सार्वजनिक भएदेखिनै बहिष्कार अभियान चलेको थियो । यस्तोमा रमितले फेसबुकमा स्ट्याटस लेख्दै नेताहरुलाई राखेकै कारण फिल्म डुबेको आरोप लगाएका छन् ।

वि.सं.२०८१ भदौ १७ सोमवार १०:४३