किनेको भ्युज र किनेको दर्शकमा रमाइरहेको नेपाली चलचित्र क्षेत्र
पछिल्लो समय टिकट किनिदिएरै हल हाउसफुल बनाउने कुरा पनि लुकेको छैन
वि.सं.२०८१ भदौ २४ सोमवार ०४:१३
काठमाडौँ । नेपाली चलचित्र क्षेत्र पछिल्लो समय किनेको भ्युज र किनेको दर्शकमा रमाइरहेको छ । भ्युज त ठिकै हो, दर्शक पनि किनेको ? अलिक नराम्रो सुनियो है । तर, वास्तविकता यहि हो । फिल्म प्रदर्शनमा आउँदा दर्शकलाई टिकट किनेरै भएपनि हाउफुल देखाउने चलन चलचित्र क्षेत्रमा ओपन सिक्रेट जस्तै छ । अनि त्यहि हाउफुल हलमा गएर फोटो भिडियो खिचाउँदै, स्टार पावर भनेर देखाउनेको लर्को पनि ठुलै छ ।
फिल्म प्रदर्शनको बेला प्रचार सामग्री टिजर, गीत र ट्रेलरलाई सोसल प्लेटफर्म युट्युब, फेसबुक, टिकटकहरुमा बुस्ट गरेर स्पोन्सर्ड भ्युज प्राप्त गर्छन् । अनि त्यहि भ्युजलाई लिएर मेरो फिल्मको गीत, टिजर र ट्रेलरले यति भ्युज पायो भन्दै कुर्लिन्छन् मेकरहरु । भ्युज किन्ने कुरा राम्रो कि नराम्रो आफ्नै बहस होला । मेकरहरु आफ्नो सामग्री धेरै भन्दा धेरै दर्शकमाझ पुगोस् भन्ने चाहन्छन् । त्यसका लागि भ्युज किन्नै पर्यो, या त कन्टेन्ट दमदार हुन पर्यो । कन्टेन्ट राम्रो हुँदा दर्शकले आफैँ खोजी खोजी हेर्ने गर्छन् । यदि कन्टेन्ट कमशल छ भने यो बाटो सजिलो भइहाल्यो ।
किनेको भ्युजमा रमाउने मेकहरुको ताँती देख्दा हाँसो लाग्छ । आफ्नो कन्टेन्ट राम्रो बनाउनुको साटो उनिहरु किनेको भ्युजलाई लिएर समाचार बनाउन लागिहाल्छन् । अनि यति मिलियन उति मिलियन भनेर क्षणिक रमाइलोमा मस्त हुन्छन् । यसो गर्नुको साटो राम्रो कन्टेन्ट बनाएर दर्शकको मन जित्नु नि ।
अर्को कुरा पछिल्लो समय टिकट किनिदिएरै हल हाउसफुल बनाउने कुरा पनि लुकेको छैन । फिल्म चल्दा निर्माताले टिकट किनिदिएर हल हाउसफुल बनाउने अनि फिल्मका कलाकार गएर दर्शकमाझ सेलिब्रेशन गरेको फोटो खिचाउने । मिडिया बोलाएर यस्तो देखियो क्रेज, उस्तो देखियो क्रेज भन्न लगाउने । यो चलन पछिल्लो समय सबै फिल्महरुको देखिन्छ । मेकरहरु यस्ता कुरा मान्न तयार छैनन् । तर, यो कुरा ओपन सेक्रेट जस्तै भइहाल्यो । यस्तो गर्दा फिल्मको हाइप बढ्ने मेकरहरुमा भ्रम छ । यो खर्च गरेर दुख गर्नुभन्दा मेकिङमा यस्तो खर्च गर्दा हुन्छ नि हैनर ? राम्रो फिल्मलाई त टिकट काटेर दर्शक बोलाउनुपर्ने बाध्यता छैन नि । तर, सजिलै टिकट किनिदिएर एक दुइटा हलमा दर्शकसँग सेलिब्रेसन गर्न पाए मेकर र कलाकारलाई पुगिहाल्यो नि । यस्तैमा रमाइरहेको छ नेपाली चलचित्र ।
फिल्म मेकर अर्जुन कुमार आगामी चलचित्र सानो संसारलाई लिएर प्रचार प्रसारमा दौडिरहेका छन् । यस्तोमा उनले केहिनि अगाडि एउटा स्ट्याटस लेखे । तितो लाग्ने सत्य उनले सामाजिक संजालमार्फत सार्वजनिक गरे ।
उनले लेखेका छन्
“बल्ल बल्ल फिल्म बनायो भ्युज किन्न पर्ने
लाइक किन्न पर्ने
कमेन्ट पनि किन्न पर्ने
अनी लास्टमा हल भरी देखाउन टिकट पनि किन्न पर्ने
दिक्क लागेर आउँछ कहिले काँहि त
हरे नेपाली निमाृता हे गुगल भगवान् तेरो लिला अपरम्पार छ
के मात्र गरोस निर्माताले हैट”
अर्जुन कुमारले गरेको कुरा पछिल्लो समयमा निर्माताले भोग्नुपर्ने यर्थाथ हो । यस्तोमा निर्माताले के के पो गरोस् । सबै कुरा किन्नु पर्ने भएसी निर्माताले पाउँछ के ? यो त निर्मातालाई हतोत्साहित बनाउने कुरा मात्रै भएन र ?
यति मात्र हैन, पछिल्लो समय एउटा ट्रेण्ड नै चलेको छ । कलाकारले हल भिजिट गरेर दर्शक भेट्ने । स्टारहरु हलमा पुग्दा फोटो खिचाउनेको भिँड नै लाग्छ । दर्शक आफ्नो स्टारहरुसँगको सामिप्यतामा हराउँछन् । यस्तोमा एउटा प्रश्न भने उठ्छ नै । दुई घण्टा एउटा दर्शकले फिल्म हेर्छ । उ एउटा जोनमा पुगेको हुन्छ, यस्तोमा फिल्म सकिएलगत्तै कलाकार भेट्दा, उसले फिल्म हेर्दा पुगेको वा भेट्टाएको जोनमा कतिबेला रहन्छ होला ? फिल्म सकिएलगत्तै कलाकार पुग्दा दर्शकले फिल्मबाट पाएको भाव कतिबेला सम्म रहन्छ होला ? यतातिर पनि सोच्ने कि । एकै पलमा उ फिल्मको जोनबाट बाहिर निस्कन्छ र यस्तोमा उसले फिल्म हेरेर लिएको मज्जा भन्दा आफ्नो स्टारसँग फोटो खिच्दा पाएको आनन्दमा भुल्दैन र ? फिल्म कस्तो थियो भन्ने कुराको अनुभव उसले तुरन्तै भुल्दा उसले फिल्मको बारेमा के याद गर्ला र खै ?
वि.सं.२०८१ भदौ २४ सोमवार ०४:१३