‘कल्ली’बाट किन हटाइए पल शाह ?
वि.सं.२०८१ असोज १ मंगलवार ०८:३१

काठमडौँ । अभिनेता पल शाह जेलबाट छुटेपछि उनको करियरले कस्तो मोड लिन्छ भन्ने चासो सबैतिर थियो । यस्तोमा उनले धेरै निर्माता निर्देशककोमा पुगेर फिल्मका लागि धाए । कसैले नपत्याएपछि उनले दिनेश राउतको ‘पूजार सार्की’मा अभिनय गरे । फिल्म हिट भयो । तर, फिल्मको क्रेडिट सबै प्रदीप खड्काको पोल्टामा गयो । फिल्ममा प्रदीपको भूमिकाको अगाडि सबै छायाँमा परे ।
त्यसपछि उनले पूजा शर्माको ‘रावायण’मा अभिनय गरे । फिल्मले रिलिज अगाडि राम्रै हाइप बनायो । बक्सअफिसमा पुगेपछि फिल्म टिक्नै सकेन । यहि बिचमा उनले साइन गरेको फिल्म कल्लीबाट उनलाई निकालिएको खबर बाहिरिएको छ । गत साउन १५ गते उनि र बेनिशा हमालको पोष्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरिएको थियो । एक महिना पछि पललाई फिल्मबाट निकालिएको खबर बाहिरिएको छ ।
पललाई निकाल्नुमा रावायणको व्यापारलाई मानिएको छ । फिल्मले बक्सअफिसमा राम्रो गर्न नसक्नु नै मुख्य कारण बताइन्छ । अर्को पलको सार्वजनिक छविका कारण पनि कल्लीका निर्माता तर्सिएको जनाइएको छ । पल एक विवादित घटनामा जेल बसेर आएका हुन् । उक्त घटनाका कारण उनको छवि सामाजिक रुपमा राम्रो पाइँदैन । यस्तोमा ‘रावायण’को कलेक्सनमा पनि उक्त छविको असर परेको बताइएको छ । अर्को कुरा उनको छविका कारण केहि कलाकारले कल्लीमा काम गर्न नमान्नु नि बताइन्छ । सबैतिरको घेरामा परेका कल्लीका निर्माताले पललाई निकालेर अभिनेता सौगात मल्ललाई अनुबन्धित गरेको बताइन्छ ।
किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्मलाई लक्ष्मण सुनुवारले निर्देशन गर्नेछन् । फिल्ममा बेनिशा हमाल मुख्य भूमिकामा छिन् । यस्तोमा दर्शकले फेरि एकपटक सौगात र बेनिशाको जोडि हेर्न पाउने भएका छन् । दुवैले ‘झ्यानाकुँटी’मा एकसाथ काम गरेका थिए ।
वि.सं.२०८१ असोज १ मंगलवार ०८:३१











