‘पूर्ण बहादुरको सारङ्गी’को दोहोरी गीत सार्वजनिक

1.74K shares

काठमाडौँ । कार्तिक १५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को दोहोरी गीत सार्वजनिक भएको छ । बुधबार फिल्मको दोहोरी ब्याटल शैलीको ‘रैयाँ चाँदी’को गीत सार्वजनिक भएको हो ।

नवराज पन्तको शब्द रचना रहेको गीतमा आशिष अविरलको संगीत रहेको छ । गीतमा अविरल र मेलिना राईको स्वर छ । भिडियोमा फिल्मका दुई प्रमुख पात्र विजय बराल र अञ्जना बराइली सर्तसहित रोधी बसेका छन् । बाटुली (अञ्जना) हारे पूर्णे (विजय) को श्रीमती बन्ने अनि पूर्णे हारे बाटुलीको घरमा हली बस्नुपर्ने सर्त राखिएको छ । त्यो सर्त स्वीकार गरेर दुवै रोधी बस्छन् । प्रेमका कुरा समेटीको दोहोरीमा अन्तिममा अञ्जनाले रोधी हारेपछि विजयले उनलाई साथमा लिएर जान्छन् ।

सरोज पौडेलको कथा तथा निर्देशनमा बनेको फिल्ममा विजय र अञ्जनासहित प्रकाश सपूत, मुकुन भुसाल, माओत्से गुरुङ, विनोद न्यौपाने, शंकर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह लगायतको अभिनय छ । विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता रहेको फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ ।

 

 

1.74K shares