उन्नत पदार्थ विज्ञान सम्वन्धी अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन काठमाडौँमा सम्पन्न

525 shares

काठमाडौँ । काठमाडौँ सिम्पोजिया अन एडभान्स्ड मटेरियल्सको पाँचौं श्रृंखला यहि कार्तिक ६–८ गते सम्म पार्क भिलेज रिसोर्ट बुढानीलकण्ठ काठमाडौँमा सम्पन्न भएको छ । कार्यक्रमलाई पाल पोलिमर इन्स्टिच्युट (एनपीआई), त्रिभुवन विश्वविद्यालय, कलेज अफ बायोमेडिकल इन्जिनियरिङ एन्ड एप्लाइड साइन्सेस, दिन दयाल उपाध्याय गोरखपुर विश्वविद्यालय, भारत र आई पि डब्लु जर्मनीले आयोजना गरेको थियो ।

दक्षिण एशियाली मुलुकका पदार्थ विज्ञानको क्षेत्रमा अध्ययन अनुसन्धान गरिरहेका पदार्थ वैज्ञानिकहरू र विश्वभरका वैज्ञानिकहरूबीचको वैज्ञानिक सहकार्यलाई स्थापित र सुदृढ गर्ने कार्यक्रमको उद्देश्य थियो । सम्मेलनमा नयाँ र स्मार्ट पदार्थहरु, हरित र दिगो प्रविधिहरू, चक्रिय अर्थतन्त्र, नानोरबायो(आधारित अति सुक्ष्म पदार्थहरू, टिस्यू इन्जिनियरिङ, कम्प्युटेशन प्राविधिकहरूमा केन्द्रित घनिभूत छलफल भयो ।

नेपाल पोलिमोर इन्स्टिच्युटका अध्यक्ष तथा यस सम्मेलन आयोजक समितिका संयोजक प्रा. डा. रामेश्वर अधिकारीले नानो–बायो, हरित र दिगो प्रविधिहरू लगायतका पछिल्ला अनुसन्धानका क्षेत्रमा नेपालमा भए गरेका अध्ययन अनुसन्धानलाई विश्व समुदाय समक्ष प्रस्तुत गर्ने उद्देश्यले यो सम्मेलन आयोजना गरेको बताए ।

पदार्थ वैज्ञानिकहरूको यस महत्त्वपूर्ण अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनलाई त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजङ्ग बराल र दिन दयाल विश्वविद्यालय गोरखपुरकि उपकुलपति प्रा.डा. पुनम टण्डनले संयुक्त रूपमा उद्घाटन गरेका थिए । सम्मेलनमा नेपाल लगायत फ्रान्स, जर्मनी, दक्षिण अफ्रिका, जपान, भारत, अमेरिका, चीन, नर्वे लगायतका देशहरूबाट आएका प्राध्यापक, वैज्ञानिक, अनुसन्धानकर्ता, युवा वैज्ञानिकहरू तथा तथा विद्यार्थीहरू सहभागी भएका नेपाल पोलिमर इन्स्टिच्युटका पूर्व अध्यक्ष डा। राजेश पण्डितले बताए। सम्मेलनमा युवा वैज्ञानिकलाई लक्षित गरी ‘स्मार्ट र फङ्सनल पदार्थको अनुप्रयोगमा हालको प्रगति’ नामक एक दिने ‘शर्ट कोर्स’ र नेपाल भारत विशेष सिम्पोजियम समेत आयोजना गरिएको थियो ।

सम्मेलनको अन्तिम दिन युवा विद्यार्थी, युवा अभियानकर्ता, युवा व्यवसायी, विदेशमा लामो समय प्राध्यापन गरेका प्राध्यापक, त्रिभुवन विश्वविद्यालयको नीति नियममा अनुभव हासिल गरेका प्राध्यापकहरूको उपस्थितिमा ‘समाजका लागि आवश्यक बहु विषयगत अनुसन्धानका लागि युवा वैज्ञानिकहरुको सशक्तिकरण’ नामक विषयमा ‘प्यानल डिस्कसन’ आयोजना गरिएको गरिएको थियो । प्यानल डिस्कसनमा आपसी वैज्ञानिक सहकार्य, बहुविधागत अनुसन्धानको आवश्यकता र अनुसन्धानलाई समाजसँग जोड्नको लागि गर्नुपर्ने पहल कदमीका बारेमा छलफल भएको सम्मेलन कन्भेनर डा. केदारनाथ ढकालले बताए ।

यस वैज्ञानिक सम्मेलनमा नेपाल लगायत विश्वभरका २०८ जना वशिष्ठ वैज्ञानिकहरू, अनुन्धानकर्ताहरु, युवा बैज्ञानिकहरु तथा सहभागी जिज्ञासुहरु सहभागी थिए । सम्मेलनमा १५१ वटा कार्यपत्र प्रस्तुत भएका थियो, साथै उत्कृष्ट पोस्टर प्रस्तुतकर्ताहरूलाई सम्मान समेत गरिएको थियो ।

सम्मेलनकै क्रममा ‌त्रिभुवन विश्वविद्यालय र गोरखपुर दिनदयाल उपाध्याय विश्वविद्यालयको बीचमा साथै नेपाल पोलिमर इन्स्टिच्युट र विभिन्न शैक्षिक संस्थाहरूबीच आपसी सहकार्यका सम्बन्धमा विभिन्न समझदारी पत्रमा हस्ताक्षर भएको सिम्पोजियम कन्भेनर डा. हरिशरण अधिकारीले बताए । यस सम्मेलनलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट), प्लास्ट नेपाल फाउन्डेसन, नबिल बैंक, युनिग्लोब कलेज, राष्ट्रिय आविष्कार केन्द्र, हुम्बोल्ट क्लब नेपाल, नेपाल साइन्स फाउन्डेसन ट्रस्ट, एन्जल्स हर्ट सेकेन्डरी स्कुल तथा हिमालयन व्हाइट हाउस कलेजले प्रायोजन गरेको थियो । ‌

यो सम्मेलनले नेपालको पदार्थ विज्ञान र खासगरी नानोरबायो प्रविधिको क्षेत्रमा भएका अध्ययन र अनुसन्धानात्मक गतिविधिहरूको प्रवर्द्धनका लागि योगदान पुर्याउनुका साथै, नेपालका वैज्ञानिकहरूलाई विश्वभरका वैज्ञानिकहरूसँगको सहकार्य निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको यस सम्मेलनका कन्भेनर डा. शंकर खतिवडाले जानकारी दिए । साथै, काठमाडौँ सिम्पोजिया अन एडभान्स्ड मटेरियल्सको छैठौँ श्रृंखला सन् २०२६ मा पोखरामा आयोजना गर्ने घोषणा समेत यो सम्मेलनले गरेको खतिवडाले बताए ।

525 shares