गौरीशंकर गाउँपालिका सबै मेरो परिवार हो, परिवारलाई म समस्यामा पार्ने छैन : उमा शेर्पा

686 shares

काठमाडौँ । नेकपा एमालेको तर्फबाट गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवार उमा शेर्पाले गौरीशंकर गाउँपालिकामा बस्ने सबै आफ्नो परिवारको सदस्य भएको बताएकी छन् । शनिबार काठमाडौमा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै शेर्पाले गौरीशंकर आफ्नो घर भएको र त्यहाँ बस्ने सबै आफ्नो परिवार भएकाले परिवारलाई समस्यामा नपार्ने बताएकी हुन् ।

भेलालाई सम्बोधन गर्दै शेर्पाले गाउँपालिकामा जनप्रतिनिधि नभेटिने प्रथाको अन्त्य गर्ने बताइन् । आफु जितेपछि सँधै गाउँपालिकामै रहेर काम गर्ने प्रतिवद्धता जनाइन् ।

एमालेले उम्मेदवार बनाएपछि मतदाता भेटघाटमा निस्किएकी शेर्पा, घरदैलोबाट फर्केपछि उत्साहित देखिएकी छन् । जनताले आफ्नो चासो र गुनासो दुवै उनिसमक्ष राखेको उनले बताइन् । घरदैलोमा पुग्दा स्थानीयले गरेको स्वागत नै जितको आधार भएको उनले बताइन् ।

भेलामा गौरीशंकर गाउँपालिका घर भइ काठमाडौँ बस्ने जनताहरुको उल्लेख्य सहभागिता थियो । कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा बागमति प्रदेश इन्चार्ज डा. राजन भट्टराई प्रमुख अतिथि थिए । भट्टराईले दोलखा जिल्ला एमालेको लालकिल्ला भएको बताए ।

कार्यक्रमलाई एमाले पोलिट्ब्युरो सदस्य आनन्द पोखरेल, इश्वरी रिजाल, पार्वत गुरुङ, केन्द्रिय सदस्य सरस्वति बस्नेत लगायतका नेताले सम्बोधन गरेका थिए ।

 

 

686 shares