रत्न गौतमको सहयोगमा मन्थली माविका विद्यार्थीलाई ‘न्यानो कपडा’ वितरण

1.67K shares

रामेछाप । नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य समाजसेवी रत्नप्रसाद गौतमले रामेछापको सबैभन्दा बढी विद्यार्थी भएको मन्थली माविका विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेका छन् । सोमबार एक कार्यक्रम आयोजना गर्दै नेकपा एमाले रामेछापसँगको समन्वयमा गौतमले विद्यालयलाई १२ लाख रुपैँया बराबरको कपडा हस्तान्तरण गरेका छन् ।

सो विद्यालयमा नर्सरीदेखि १० कक्षासम्म अध्ययन गर्ने करिब १ हजार २ सय विद्यार्थीलाई ट्याक सुट लगायतका १२ लाख रुपैँया बराबरका कपडा गौतमले सहयोग गर्नुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजप्रसाद सुवेदीले जानकारी दिए । उनले विद्यालयलाई सहयोग गर्ने गौतमलाई विद्यालयको तर्फबाट धन्यवाद समेत दिए ।

न्यानो कपडा हस्तान्तरण कार्यक्रमका बोल्दै गौतमले विद्यार्थी र अभिभावकलाई पठनपाठनमा उत्प्रेरित गर्न आफूले जिल्ला पार्टी र विद्यालय व्यवस्थापन समिति तथा विद्यालय प्रशासनसँग समन्वय गरी सहयोग गरेको बताए । मन्थली मावि भित्रै कलेज समेत सञ्चालन भएकोले प्राविधिक विषय पढ्ने केही विद्यार्थीहरूलाई समस्या परे आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले समाज बुझ्नलाई विद्यार्थीको बानी व्यवहार बुझे पुग्ने बताए । त्यसैले विद्यार्थीलाई अनुशासित र सुशिक्षित बनाउन समाजको सबै क्षेत्र लाग्नु पर्नेमा उनले जोड दिए ।

मन्थली माविका प्रधानाध्यापक डा. टङ्कप्रसाद दाहालले मन्थली माविको भौतिक पूर्वाधार निर्माणमा पनि गौतमको ठुलो योगदान रहेको बताए । अहिले धेरै मानिसहरूसँग पैसा भए पनि सहयोगी भावना नभएको बताउँदै गौतमको सहयोगी भावनाको दाहालले सम्मान गरे ।

कार्यक्रममा सो विद्यालयका पूर्वप्रधानाध्यापक गुञ्जबहादुर श्रेष्ठ, नेपाली कांग्रेस रामेछापका प्रवक्ता कुमार श्रेष्ठ, अनेरास्ववियु रामेछापका अध्यक्ष पुष्कर भट्टराई, विद्यालयको बाल क्लबकी अध्यक्ष मनसुन लामा लगायतले विद्यार्थीलाई जाडोको बेलामा न्यानो कपडा प्रदान गरेको भन्दै गौतमको प्रशंसा गरे ।

कपडा वितरण कार्यक्रममा नेकपा एमाले रामेछापका सचिव प्रकाशकुमार कार्की, मन्थली क्याम्पसका अध्यक्ष उज्वल सुवेदी, नेकपा एमाले मन्थली नगरपालिका कमिटी अध्यक्ष रामबाबु घिमिरे, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिताराम कार्की, अनेरास्ववियुका केन्द्रीय नेता शागरहरि अधिकारी, पूर्व शिक्षकहरू, विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

विद्यालयलाई सहयोग गर्ने गौतमलाई विद्यालयले सम्मान गरेको थियो ।

1.67K shares