सन्तोषको ‘बलिदान’का लागि ४२ फिट अग्लो कालीको मुर्ति तयार

वि.सं.२०८१ पुस २१ आइतवार ०६:३३

काठमाडौँ । निर्माता सन्तोष सेनको चलचित्र ‘बलिदान’ निर्माण घोषणा देखि नै चर्चामा छ । फिल्मको लगानी, सेट, कलाकार र प्राविधिकका कारण चर्चा चुलिएको हो ।
महँगो लगानीमा बन्न लागेको चलिचत्रको लागि निर्माण गरिएको कालिको मुर्ति यतिबेला चर्चामा छ । फिल्मका लागि ४२ फिट अग्लो कालीको मुर्ति स्थापना गरिएपछि चर्चा चुलिएको हो । यसअगाडि पनि सेट र लगानीको कारण फिल्मको चर्चा छ ।
निर्देशक सेनले सामाजिक संजाल फेसबुकमा लेख्दै भनेका छन्, “बलिदान चलचित्रका लागि हामीलाई अद्धितिय र विशाल काली माताको मुर्ति चाहिएको थियो । कथाको मागअनुसार दानव प्रवृतिको संहार गर्ने प्रतीकका रुपमा देवी काली र तिनको रौद्र चण्डी स्वरुपलाई दर्साउने एउटा विशाल मूर्ति । देशभर खोजी गर्दापनि हामीले आफ्नो चाहनाअनुसारको मूर्ति पाएनौँ । अन्ततः हामी भारतको कलकत्ता पुग्यौं । त्यहाँका कुशल कालिगडहरुसँग मिलेर ४२ फिट अग्लो काली माताको मूर्ती निर्माण गर्यौँ । यो एउटा चुनौतीपूर्ण यात्रा थियो ।
मोरङको हसिना सिमसार बुढासुब्बा मैदानमा यो विशाल मूर्ति स्थापित गरिएपछि यो क्षेत्र काली चौरका नामले प्रख्यात हुन थालेको छ । अहिले यहाँ एउटा ठूलो मञ्च र २ सय भन्दा बढी स्टलहरु छन् । यसले स्थानीयलाई रोजगारी दिएको छ भने यहाँ एउटा मिनि बजार पनि सञ्चालन भइरहेको छ । यहीँबाट हामी बलिदानका विशेष दृश्यहरु खिच्दैछौँ ।”
फिल्ममा पवन व्राडफोर्ड बिष्ट निर्माताको रुपमा छन् भने प्रेम पुरी सह–निर्माता हुन् । फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारहरुको अभिनय छ ।

वि.सं.२०८१ पुस २१ आइतवार ०६:३३