पल शाहलाई ‘मायावी’ हिट हुनैपर्ने दबाब

693 shares

काठमाडौँ । अभिनेता पल शाह यतिबेला ‘मायावी’ रिलिजको दौडधुपमा छन् । यो वर्ष उनको दुई फिल्म रिलिज भइसकेका छन् । जेठमा ‘पूजार सार्की’ र भदौमा ‘रावायण’ । ‘पूजार सार्की’ हिट भयो तर, त्यो उनको सोलो फिल्म थिएन । फिल्ममा प्रदीप खड्का र आर्यन सिग्देल पनि थिए ।

‘रावायण’ उनको अपेक्षा गरिएको फिल्म थियो । तर, फिल्म सुपर फ्लप भयो । जेल जीवनपछि पलको कमब्याक ‘रावायण’बाट हुने अनुमान गरिएको थियो । तर, उक्त अनुमान गलत सावित भयो । यस्तोमा ‘मायावी’ उनको आशा गरिएको फिल्म हो ।

पलले हिट र फ्लप फिल्म दुवैको अनुभव बटुलेका छन् । उनले फिल्मी करियरको सुरुवात ‘नाइँ नभन्नु ल ४’ बाट गरेका थिए । डेब्यु फिल्म नै उनको हिट भयो । त्यसपछि ‘शत्रुगते’ र ‘म यस्तो गीत गाउँछु’ मा काम गरेका पललाई फेरि सफलता मिल्यो ।

त्यसपछि भने उनका कुनै फिल्मले पनि दर्शकलाई प्रभावित पार्न सकेका छैनन् । ‘रावायण’को हाइप उच्च थियो, तर फ्लप भयो । यस्तोमा उनको स्टारडम माथि नै प्रश्न उठेको थियो । फिल्म फ्लप हुँदा उनको आगामि केहि प्रोजेक्टबाट समेत उनलाई अलग्याइयो । यस्तोमा ‘मायावी’ हिट हुनै पर्ने दबाबमा छन् उनि ।

महाशिवरात्रीको अवसरमा बुधबारबाट प्रदर्शनमा आउन लागेको फिल्मको सफलताले पलको आगामी करियर र स्टारडमको निर्धारण गर्नेछ । म्युजिक भिडियो र मेला महोत्सवमा पुगेर उनले फिल्मको प्रचार गरेका थिए । त्यो बाहेक उनले त्यति समय फिल्मको प्रचारमा विताउन पाएनन् ।

लभस्टोरी जनरामा कम्फर्टेवल देखिएका पल ‘मायावी’ मार्फत कमब्याकको व्यग्र प्रतिक्षामा छन् । दीवाकर भट्टराईको निर्देशनमा बनेको फिल्ममा पलको जोडी दीपिका प्रसाईं छिन् ।

693 shares