‘परान’को फर्स्टलुकमा महेशको अँगालोमा अन्जना
वि.सं.२०८२ असोज २ बिहीवार ०७:३२

काठमाडौँ । हास्यकलाकार दीपकप्रसाद आचार्य ‘काकु’ निर्देशित फिल्म ‘परान’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तोकिएको छ । निर्माण टिमले फिल्मलई १४ कात्तिकदेखि प्रदर्शनमा ल्याउने भएका हुन् ।
पोस्टरमा महेश त्रिपाठी र अञ्जना बराइली फिचर्ड छन् । पोस्टर हेर्दा, फिल्ममा यी दुईले जोडी बाँधेको देख्न सकिन्छ । ‘सासले हैन, साथले चल्ने’ शब्दावलीसहित बटमलाइन राखिएको छ ।
फिल्मलाई गोल्छा समूह र प्रिज्मा समूहको निर्माण साझेदारीमा निर्माण गरिएको हो । बाइस्कोप सिनेमा प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र आर्यादीप आचार्यको पनि अभिनय छ ।
फिल्मको पटकथा तथा संवाद यम थापाले लेखेका हुन् । रिदम कँडेलको संगीत रहेको फिल्मका गीतमा प्रमोद खरेल, पुष्पण प्रधान र रचना रिमालले स्वर दिएका छन् । शिवराम श्रेष्ठको छायांकन रहेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका हुन् ।
वि.सं.२०८२ असोज २ बिहीवार ०७:३२












