कमजोर राज्यमा नागरिकको अधिकार संरक्षण हुन्न : महासचिव पोखरेल
वि.सं.२०८२ वैशाख १२ शुक्रवार ०८:४५

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कमजोर राज्यले नागरिकको अधिकार संरक्षण गर्न नसक्ने बताएका छन् । प्रेस चौतारी नेपाल केन्द्रीय समितिको दोस्रो बैठकलाई शुक्रबार ललितपुरमा सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले राज्यलाई कमजोर पार्न सुनियोजित प्रचार गरिएको बताएका छन् । यसले राज्य र नागरिकका बिचमा द्वन्द्व सिर्जना गरेको उनको भनाइ थियो ।
‘लोकतन्त्रलाई राज्यलाई बलियो बनाउने र बलियो राज्यका मध्यमबाट नागरिकलाई बलियो बनाउने कुराको पैरवी गर्नु पर्दछ’, पोखरेलले भने । आमसञ्चार माध्यमले हरेक घटनालाई राज्य र नागरिकका बिच गहिरो सम्बन्ध कायम गर्ने कोणबाट विश्लेषण गर्नु पर्ने उनको धारणा छ । समाचारले समाजलाई सकारात्मक प्रभाव पार्नु पर्नेमा उनले जोड दिए ।
नकारात्मक समाचारले समाजलाई गलत दिशा तर्फ लैजाने पोखरेलले बताए । ‘ नकारात्मक समाचारलाई समाजलाई गलत दिशा तर्फ लैजान्छ, कस्तो समाज निर्माण गर्ने भन्ने सन्दर्भमा सोचेर हामीले समाचार सम्प्रेषण गर्नुपर्दछ’, उनले भने ।
उनले पत्रकार सधैँ सिर्जनात्मक हुनु पर्ने बताए । त्यसो भएन भने पत्रकार नसुनिने र नदेखिन पात्र बन्ने पोखरेलको धारणा छ । ‘ पत्रकार समाजमा देखिने र सुनिने बन्नु पर्दछ, निर्णायक क्षणमा पार्टी र राष्ट्रको पक्षमा आफ्नो सामर्थ्य देखाउनु पर्दछ’, पोखरेलले भने ।
नेपाल राष्ट्रलाई कमजोर बनाउन बाहिरबाट लगानी गर्नेहरूबाट नेपालमा स्वघोषित विद्वानहरू परिचालित भएका उनले बताए । नेपालमा धेरै बाह्य लगानीबाट हुने रिसर्चहरू प्रायोजित र देशलाई कमजोर बनाउने खालका हुने उनको धारणा छ । ‘के देखाउने भन्ने कुराको आधारमा रिसर्च हुने गर्दछ, त्यसले हाम्रो समाजलाई विसङ्गति तर्फ लैजान्छ’, उनले भने ।
वि.सं.२०८२ वैशाख १२ शुक्रवार ०८:४५








