रास्वपा र एमालेद्वारा संसद अवरोध, बैठक स्थगित

1.53K shares

काठमाडौं । जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता नलिइएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा बैठक अवरूद्ध गरेका छन् । मंगलबार रास्वपाले प्रतिनिधि सभा बैठक सुरू हुनेबित्तिकै जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने सरकारले तयारी गरेको भन्दै विरोध गरेको हो । रास्वपाको मागमा एमालले पनि समर्थन गर्दै बैठक अवरुद्ध गरेको हो ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले निर्वाचन कार्यालयलाई खारेज गरी प्रशासन कार्यालयमा गाभ्ने निर्णय लोकतन्त्र विरोधी भएको भन्दै सरकारलाई त्रुटि सच्याउन आग्रह गरेका छन् ।

‘राष्ट्रिय स्वतन्त्रपार्टीले भर्खर नेपाल सरकारले बजेटमा ल्याएको जिल्ला स्तरिय निर्वाचन आयोगलाई जिल्ला प्रशासन अन्तर्गत राख्ने कुरामा मत जाहेर गर्दै आयो तर त्यसको सुनुवाई भएन्। हामीले बारम्बार यो विषयलाई उठायौं। हामीलाई लाग्छ लोकतन्त्र बलियो बनाउने राजनीतिक पार्टीबाट विमुख भएर सरकारले आफ्नो मनोमानी गर्दैछ ।’ उनले भने ‘इतिहास साक्षि छ हिजो पनि आर्थिक बजेटमा नागरिकता विधेयक जस्तो कयौं दृष्टान्तहरु हामी संग छ । आज पनि आर्थिक बजेटको नाममा सरकारले लोकतन्त्रमाथि यो हमला गरिरहेको छ ।’

एमाले सांसद सूर्य थापाले पनि सरकारले यो विषयलाई सच्याउनुपर्ने भन्दै विरोध जनाएका छन्। उनीहरूले सभामुखले नै रूलिङ गर्नुपर्ने माग गरेका हुन् ।

1.53K shares