दुषित मनशाय राखेर प्रधानमन्त्री दाहालको राजीनामा मागियो

1.56K shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विवादास्पद अभिव्यक्तिबारे सचिवालयले खण्डन गरेको छ । प्रधानमन्त्री दाहालले भ्रष्टाचार र जनताका पक्षमा सञ्चालन गरेको अभियान रोक्नलाई नियोजित रुपमा संकुचित राजनीतिक मानसिकता भएकाले प्रष्टीकरण दिने मौका समेत नदिई प्रधानमन्त्रीको राजीनामा माग गरिएको भन्दै खण्डन गरेको छ ।

बिहीबार प्रधानमन्त्री दाहालको प्रेस सल्लाहकार गोविन्द आचार्यद्वारा जारी विज्ञप्तिमा प्रचण्डको अभिव्यक्तिलाई अपव्याख्या गरि राजनीतिक आडमा स्वार्थ पूरा गर्न खोजेको प्रति सचिवालयको ध्यानाकर्षण भएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८० असार १८ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभिष्ट पूरा गर्न खोजिएकोतर्फ गम्भीर ध्यानाकर्षण भएको छ ।’

उक्त विज्ञप्तिमा प्रधानमन्त्री दाहाल र प्रितम सिंहको पारिवारिक सम्बन्ध घनिष्ट र भावनात्मक रहेको कारण पुस्तक लोकार्पणको क्रममा प्रधानमन्त्रीले प्रसंगवश उक्त अभिव्यक्ति दिएको स्पष्टोक्ति छ । तर, भावनात्मक अभिव्यक्तिलाई बंगाएर अतिशयोक्तिपूर्ण राजनीतिकरण गरि राजीनामा मागिनु निरर्थक र दुःखद् भएको उल्लेख गरिएको छ ।

‘दलगत राजनीति र लोकतान्त्रिक प्रणालीप्रति नै वितृष्णा सिर्जना गर्न विभिन्न कोणबाट भइरहेको हमलाविरुद्ध लोकतन्त्रको रक्षा र सुशासनको प्रत्याभूतिका लागि सरकारले चालेका कामबाट ‘केही हुँदैन’ भन्ने निराशावादी मनोविज्ञानको ठाउँमा ‘गरे हुने रहेछ’ भन्ने आशलाग्दो वातावरण सिर्जना भइरहेको बेला प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय रहेको कुरा स्पष्ट नै छ ।’

त्यस्तै, संकुचित राजनीतिक मानसिकताले प्रधानमन्त्रीको राजीनामा मागेर एमालेले संसद अवरुद्ध गर्नु सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा सरकारले चालेका कदमको बिरोध र सिंगो संसदको अपमान भएको सचिवालयले आरोप लगाएको छ ।

1.56K shares