अपर तामाकोशीको हकप्रद शेयरमा सबै दोलखालीको सहभागिता सुनिश्चित गरियोस् : एमाले दोलखा

2.14K shares

काठमाडौं । नेकपा एमाले दोलखाले अपर तामाकोशीको हकप्रद शेयरबाट स्थानीयलाई वञ्चित नगर्न सरोकारवालालाई ध्यानाकर्षण गराएको छ । अधिकांश स्थानीयले अपर तामाकोशीको शेयर अभौतिकरण गरेका छैनन् । यस्तोमा स्थानीयहरु हकप्रद शेयरबाट वञ्चित हुने भन्दै एमालेले सोमबार एक विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण गराएको हो ।

विज्ञप्तीमा भनिएको छ –
नेपालकै गौरवको आयोजना दोलखा जिल्लास्थित अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासनको लागि शेयर दाखिल खारेज बन्दको मिति तोकी जारी गरेको सूचना प्रति नेकपा एमाले दोलखाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

हकप्रद शेयरमा सबै दोलखालीको सहभागिता सुनिश्चितताको लागि गत साउन ९ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा दोलखाका सबै सरोकारवालासँग भएको छलफलको निर्णय आयोजनाले कार्यान्वयन नगरेको भन्दै नेकपा एमालेले आपत्ति जनाएको हो । सो छलफलले आयोजना प्रभावित दोलखालीको हितग्राही खाता (डिम्याट एकाउण्ट) खोल्न सबै स्थानीय तहहरूमा आयोजना, शेयर इश्यु म्यानेजर र सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको समन्वयमा सनराइज क्यापिटलले व्यवस्थापन गरी हितग्राही खाता खोल्ने व्यवस्था गर्ने तथा भौतिक रूपमा पनि फाराम भरेर हकप्रद शेयर हाल्न पाउने निर्णय गरिएकोमा आयोजनाले त्यसको बेवास्ता गरेको एमालेले जनाएको छ ।

सो निर्णय कार्यान्वयन गर्ने कुनै प्रक्रिया नै सुचारु नगरी बुक क्लोज मितिको सूचना जारी गरिएकोले धेरै दोलखाली हकप्रद शेयरबाट वञ्चित हुने एमालेले जनाएको छ । सर्वपक्षीय छलफलको निर्णयअनुसार यथाशीघ्र प्रक्रिया सञ्चालन गर्न एमालेले विज्ञप्ति मार्फत माग गरेको छ ।

दोलखाली नागरिकलाई कुनै पनि बहानामा अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले प्रदान गर्ने हकप्रद शेयरको अधिकारबाट वञ्चित नगराउन पार्टी अध्यक्ष नरबहादुर श्रेष्ठले विज्ञप्ति जारी गरी माग गर्नुभएको छ । । ‘विदेशमा भएका वा स्वदेशमै रहेका कुनै पनि दोलखाली नागरिकको हितग्राही खाता नभएको खण्डमा पनि हकप्रद शेयर सुनिश्चितता गर्न सम्बन्धित पक्षलाई अनुरोध गर्दछौँ, हाम्रो गाम्भिर्यतालाई बेवास्ता गरेमा सम्पूर्ण जिम्मेवारी अपर तामाकोसी हाइड्रोपावरले लिनुपर्नेछ’, विज्ञप्तिमा लेखिएको छ ।

2.14K shares