मछिन्द्र केपी ओली कपको सेमिफाइनलमा

763 shares

काठमाडौँ । मछिन्द्र एफसी जारी केपी ओली कप २०८० को सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार एन्फा कम्प्लेक्समा भएको खेलमा नेपाल पुलिस क्लबलाई ४–० को पराजित गर्दै मछिन्द्र सेमिफाइनल प्रवेश गरेको हो ।

मछिन्द्रको जितमा क्रिस्टोफर चिजोबाले २ र स्टेफन बिनोङले १ गोल गरे । १ गोल भने आत्मघाती गोल रहेको थियो । मछिन्द्रलाई चिजोबाले खेलको दोस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । त्यस्तै, खेलको पाँचौ मिनेटमा चिजोबाले अग्रता दोब्बर बनाए ।

मछिन्द्रले ११ औँ मिनेटमा तेस्रो गोल गर्यो । त्यस्तै खेलको ३८ औ मिनेटमा दशरथ गिरीले क्लियर गर्न खोजेको बल रामचन्द्र वाजीलाई लागेर आत्मघाती गोल भएको थियो ।

अब सेमिफाइनलमा मछिन्द्रले भारतीय टोली मानेभञ्ज्याङ एफसी विरुद्ध खेल्ने छ ।

फागुन ११ गतेदेखि सुरु भएको प्रतियोगिता १९ गतेसम्म चल्नेछ । नकआउट शैलीमा भइरहेको खेल सेमिफाइनलसम्म एन्फाको मैदान सातदोबाटोमा हुनेछ भने फाइनल खेल दशरथ रंगशालामा हुनेछ ।

प्रतियोगितामा नेपालका ए डिभिजनसहित विदेशका दुई क्लबले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको विजेताले ११ लाख रुपैँया र उपविजेताले ५ लाख रुपैँया प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् ।

गत वर्ष सम्पन्न भएको केपी ओली कपको पहिलो संस्करणको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।

763 shares