प्याजको बिरुवा बेचेर एक लाख बढी आम्दानी

756 shares

म्याग्दी । धवलागिरि गाउँपालिका–७ ताकममा एक जना किसानले एक रोपनीभन्दा कम जमिनमा प्याजको बिरुवा उत्पादन गरेर दुई महिनामै १ लाख रुपैँया भन्दा बढी आम्दानी गरेका छन् । ताकमको आचार्य कृषि फार्मका सञ्चालक पद्माकुमारी आचार्यले उत्पादन गरेको प्याजको बिरुवा धवलागिरि र मालिका गाउँपालिकाका साथै पोखरासम्म बिक्री भएको हो । गत कात्तिक दोस्रो साता छ किलोग्राम प्याजको बीउ जमाएकी आचार्यले पुस दोस्रो हप्तासम्म रु एक लाखको बिरुबा बिक्री भएको बताइन् ।

“पहिलो चरणमा उत्पादन गरेको बिरुवा बिक्री हुने अन्तिम चरणमा छ, माघमा लगाउनका लागि बिरुवाको माग आएपछि थप बीउ जमाएको छु”, उहाँले भन्नुभयो, “एक रोपनी क्षेत्रफल बारीमा उमारेको प्याजको बिरुवाबाट दुई महिनामै रु एक लाखको बिरुवा बिक्री भयो ।”

रु २५ हजार लगानी गरेकी आचार्यले सबै बिरुवा बिक्री गरिसक्दा करिब रु एक लाख ५० हजार आम्दानी हुने अनुमान गरेकी छन् । । आचार्यले पछिल्लो तीन वर्षयता प्याजको बिरुवा उत्पादन गर्दै आएकी छन् ।

 

756 shares