राष्ट्रिय कृषि कम्पनी नेपालको आईपीओ प्रस्ताव सर्वसम्मत पारित

959 shares

भक्तपुर । “माटोदेखि सफलतासम्म” भन्ने मूल नाराका साथ स्थापित राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको दोस्रो वार्षिक साधारण सभा मिति २०८२ पौष २९ गते मंगलबार भक्तपुरस्थित ह्वाइट प्यालेस ब्याङ्क्वेट, कौशलटारमा भव्य रूपमा सम्पन्न भएको छ ।

उक्त साधारण सभाबाट कम्पनीले प्रस्तुत गरेका विभिन्न प्रस्तावहरू सर्वसम्मत रूपमा पारित भएको जानकारी कम्पनी सचिव श्री विष्णु बरालले दिए । सभाको अध्यक्षता कम्पनीका कार्यकारी अध्यक्ष श्री विशाल हुमागाईंले गरेका थिए ।

सभामा मञ्चासिन विशिष्ट व्यक्तित्वहरूमा कम्पनीका सञ्चालकहरू श्रीमती मैयाँ दुलाल, श्री सुदिप सापकोटा, स्वतन्त्र सञ्चालक श्री कवि पुडासैनी, कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता श्री भीमसेन बञ्जारा, सहायक कम्पनीहरू आर.के.सी.एन.एल. आईटेक लिमिटेडका प्रबन्ध सञ्चालक श्री मोहन प्रसाद तिमल्सिना, अलकापुरी इन्भेष्टमेन्ट कम्पनी लिमिटेडका अध्यक्ष श्री दीपक लामिछाने, मसरुम हेभेन एग्रो टुरिज्म एण्ड कल्टिभेसन कम्पनी प्रा.लि.का प्रबन्ध सञ्चालक श्री रविन्द्र कुमार पजियार, कम्पनीको एसोसिएट्स संस्था ईनर्जी ईक्विटी फण्ड लिमिटेडका अध्यक्ष श्री समुद्र काजी श्रेष्ठ, तथा ग्लोबल आईएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री मन्दिप लुइटेलको उपस्थिति रहेको थियो ।

राष्ट्र सम्मानस्वरूप राष्ट्रिय गान पश्चात सभाध्यक्षद्वारा पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो । सभामा कार्यकारी अध्यक्ष श्री हुमागाईंले सञ्चालक समितिको प्रतिवेदनसहित वार्षिक तथा वित्तीय प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमाथि छलफलपछि सभाले वार्षिक प्रतिवेदन तथा बार्षिक साधारण सभाका सम्पूर्ण प्रस्तावहरू सर्वसम्मत पारित गरेको छ ।

विशेष प्रस्तावका रूपमा कम्पनीले साधारण शेयर (आईपिओ) निष्कासनसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड नियुक्त भइसकेको हुँदा अब आईपीओ निष्कासन प्रक्रिया अघि बढ्ने मार्ग प्रशस्त भएको छ । करिब ४,००० जना संस्थापक शेयरधनीहरूको लगानी रहेको यस कम्पनीले स्थापनाको छोटो अवधिमै आफूलाई कृषि क्षेत्रको एक अग्रणी संस्थाको रूपमा स्थापित गर्न सफल भएको जनाएको छ ।

सभामा शेयरधनीहरूले राखेका जिज्ञासाहरूको जवाफ दिँदै कार्यकारी अध्यक्ष श्री विशाल हुमागाईंले कम्पनीलाई शेयरधनीहरूको अपेक्षा अनुरूप अघि बढाउने, व्यवसाय विस्तार गर्ने र लगानीमा उच्च प्रतिफल सुनिश्चित गर्न निरन्तर प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरे ।

कम्पनी हाल नाफामा सञ्चालनमा रहेको र नेटवर्थ करिब ११२ प्रतिशत पुगेको जानकारी दिइएको छ । सर्लाही जिल्लाको लालबन्दीमा दैनिक करिब १,५०० केजी डल्ले च्याउ उत्पादन गर्न सक्ने संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । साथै, सोही क्षेत्रमा वार्षिक करिब २० लाख टन कम्पोस्ट मल उत्पादन क्षमताको प्लान्ट हालै शिलान्यास भई निर्माण कार्य सुरु भइसकेको छ ।

त्यस्तै, काभ्रे जिल्लाको पनौती नगरपालिका–४ मा मिनिमार्ट तथा ओजोन वासिङ प्रविधिसहितको कृषि उपज प्रशोधन केन्द्रको संरचना निर्माण अन्तिम चरणमा रहेको र आगामी महिनाबाट सञ्चालनमा आउने जानकारी दिइएको छ ।

यसै क्रममा कम्पनीको सहायक संस्था आर.के.सी.एन.एल. आईटेक लिमिटेडको प्रथम वार्षिक साधारण सभा पनि राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको केन्द्रीय कार्यालय, कौशलटारमा मिति २०८२ पौष २९ गते नै सफलतापूर्वक सम्पन्न भएको छ ।

959 shares