सम्झाउन खोज्दा हातपात गरेको भनेर भ्रम फिँजाइयो : पूर्वमन्त्री गुरुङ
वि.सं.२०८० जेठ १४ आइतवार १५:१९

काठमाडौँ । नेकपा एमालेका पोलेटब्युरो सदस्य तथा पूर्वमन्त्री पार्वत गुरुङले कान्तिपुर दैनिकमा प्रकाशित भ्रमपुर्ण समचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । कान्तिपुरले ‘पूर्वमन्त्री गुरुङद्धारा सर्वसाधारणमाथि हातपात’ शिर्षकको समचार प्रकाशित गरेको थियो ।
दोलखाबाट फर्कीनेक्रममा काभ्रेको खावा डाँडामा आफ्नो सवारीलाई अवरोध गरेको भन्दै एक युवकलाई हातपात गरिएको भनेर समाचारमा लेखिएको थियो । उक्त समाचार बनावटी भएको गुरुङले बताए ।
त्यस्तै, सोहि समाचारमा गुरुङले २०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौँमा गुण्डागर्दी गराएको आरोप लगाइएको छ । सो निर्वाचनमा एमालेको कार्यकर्ता कुल बहादुर तामाङको नेकपा माओवादीका जिल्ला नेतृत्वको उपस्थितिमा हत्या गरिएको थियो । उक्त घटनाको वास्तविकतालाई लुकाएर अन्यत्र मोड्न खोजेकोमा पनि गुरुङले गम्भीर आपत्ति जनाएका छन् ।
यस्तो छ उनको ध्यानाकर्षण –
दोलखाबाट हिजो म काठमाडौं आउने क्रममा एक युवकले मसँग गरेको व्यवहारलाई लिएर छरिएको भ्रमप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मेरो बुबा ललितपुर स्थित सुमेरु अस्पतालमा सिकिस्तै भएकाले म मेरो निजी गाडीमा काठमाडौं आइरहेकै बेला ती युवकले चलाएको गाडीले मलाई सुकुटेदेखि पिछा गर्दै आएको रहेछ । काभ्रेको तिनपिप्ले आईपुग्दा बाटो छेकी अभद्र व्यवहार गर्यो । चाँडै काठमाडौं आइपुग्न आकस्मिक बत्ती बालेर हिड्नुपर्ने बाध्यात्मक अवस्था थियो । हाम्रै गल्ती हो की भनेर बुझे तर होईन रहेछ । काभ्रेको खावाडाँडामा आइपुग्दा समेत मेरो गाडीलाई अबरोध गरियो । ओर्लेर प्रहरी सामू उनलाई सम्झाउन खोज्दा कुटपीट र हातपात भएको भनी एकपक्षीय ढंगले अतिरञ्जित गराइएकोमा दुःख लागेको छ । साथै यो घट्नासँगै ७४ सालको स्थानीय तहको चुनावमा भएको कुलबहादुर तामाङ हत्याकाण्डको वास्तविकतालाई लुकाएर अन्यत्र मोड्न खोजेकोमा मेरो गम्भीर आपत्ति छ ।बरु त्यतिबेला वास्तवमा के भएको थियो रु कसले घट्ना घटाएको थियो भनी सत्य तथ्य खोज्न म सम्बद्ध पक्षलाई आग्रह गर्न चाहन्छु । दुई लाइन बनावटी समाचार लेखाएर एकछिनको न्यानो लिने मित्रहरुलाई यहाँ भन्दा म के भनू।
वि.सं.२०८० जेठ १४ आइतवार १५:१९





