प्रधानमन्त्रीले पाए विश्वासको मत, काँग्रेसलाई पेलेरै गए

2.23K shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन् । संसदमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको नारावाजीकाबीच दाहालले विश्वासको मत पाएका हुन् ।

विश्वासको मत लिने क्रममा नेपाली कांग्रेससहितका प्रतिपक्षी दलले सदन अवरुद्ध गरेका थिए । यस्तोमा सभामुखले पेलेरै संसद संचालन गरेका थिए । सोमबारको संसदमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएको घोषणा गरे । सोमबारको दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधानको धारा १०० उपधारा २ बमोजिम प्रतिनिधिसभा नियमावली २०७९ नियम १५५ को उपनियम ४ बमोजिम प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए ।

जसअनुसार सभामुखले मत विभाजन गर्दा दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा १५८ जना सहभागी रहेका थिए । जसमा प्रधानमन्त्रीको पक्षमा १५७ मत पर्यो भने विपक्षमा ० र दिन्न भन्ने अर्थात तटस्थमा १ मत पर्‍यो ।

सरकारमा सहभागी दल जनता समाजवादी पार्टी(जसपा) नेपाल विभाजन भएसँगै सो पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनु परेको हो ।

2.23K shares