दोलाखामा कांग्रेस र समाजवादीको समेत साझा उम्मेद्वारको पहिचान बनाउँदै बालकृष्ण

476 shares

दोलखा। नेकपा एमाले दोलखाका प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण शिवाकोटी सत्तारुढ गठबन्धन दल कांग्रेस र नेकपा एसका नेता–कार्यकर्ताहरूको पनि आकर्षणको केन्द्र बन्न थालेका छन् ।

नेकपा एमालेको चुनावी परिचालन अभियानका कार्यक्रममा शिवाकोटीलाई कांग्रेस र नेकपा एसका थुप्रै नेता–कार्यकर्ताहरूले स्वागत गर्दै मत माग्न थालेका छन् । लोकतन्त्रप्रति गहिरो निष्ठा राख्ने कांग्रेसका कतिपय नेता–कार्यकर्ताहरू एमालेमै प्रवेश गरिरहेका छन् । जसका कारण शिवाकोटीको पहिचान कांग्रेस र नेकपा एसकोसमेत साझा उम्मेद्वारका रूपमा स्थापित हुन थालेको छ ।

माओवादी केन्द्रभित्रैका कतिपय इमान्दार नेता–कार्यकर्ताले पनि उहाँको पक्षमा खुलेर मत माग्न थालेका छन् । प्रदेशसभा २ को बाबरेमा हिजो आइतबार आयोजित कार्यक्रमा माओवादीबाट स्थानीय तहमा निर्वाचित पूर्व जनप्रतिनिधि चन्द्रमाया थामीले सूर्य चिह्नमा मत मागेर शिवाकोटीसहित एमाले उम्मेद्वारहरूलाई जिताउन आग्रह गरिन् ।

आज सोमबार बैतेश्वरको मृगे पुतलीकाठमा कांग्रेसका जिल्लास्तरीय नेता तथा स्थापित समाजसेवी श्याम उप्रेती एमाले प्रवेश गरे । बैत्येश्वरकै अर्को चुनावी कार्यक्रममा सोमबारै माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य आयुष नेपाली, राजु तामाङ, जसपा नेपालका जिल्ला सचिव विपीन लाओट, कांग्रेसका क्रियाशील सदस्य कमल तामाङसहित एक दर्जन नेता–कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

उता, आइतबार जिरीमा आयोजित कार्यक्रममा नेकपा एसका जिल्ला नेता तथा तत्कालीन जिरी गाविसका निर्वाचित अध्यक्ष शैलेन्द्र खड्का एमालेमा प्रवेश गरेका थिए । दुई हप्ताकै बीचमा यसरी प्रवेश गर्नेको संख्या दुई सयभन्दा बढी पुगेको छ ।

यी त प्रतिनिधिमूलक नाम मात्र हुन् । दिनहुँ उनीहरू जस्तै नेताहरूको नेतृत्वमा एमाले उम्मेद्वारहरूलाई जिताउन दोलखाका ७४ ओटै वडामा एमाले प्रवेशको लहर चलेको छ ।

सोमबार बैत्येश्वरमा आयोजित कार्यक्रममा उम्मेदवार शिवाकोटीले पार्टीको पक्षमा देखिएको लहरलाई सङ्केत गर्दै आफूलाई एमालेले टिकट दिए पनि कांग्रेस, माओवादी र नेकपा एससहित सबै पार्टीको साझा उम्मेद्वारका रूपमा अगाडि बढ्न चाहेको प्रष्ट्याए । साथै, उनले कुनै पार्टी नभनी कांग्रेस, माओवादी, नेकपा एसका नेता–कार्यकर्र्तासँग साथसाथमै मिलेर समग्र दोलखा र वैत्येश्वरको विकास गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
‘प्रतिनिधिसभाका लागि नेकपा एमालले टिकट दिएको हो तर म अहिले कांग्रेसहरूको पनि साझा उम्मेद्वार हुँ । किनभने यहाँ ९बैत्येश्वर० मा प्रजातान्त्रिक आन्दोलनमा लाग्नुभएका, कांग्रेसमा धेरै रगत पसिना बगाउनुभएको नेता–कार्यकर्ता हुनुहुन्छ । उहाँहरूलाई थाहा थियो, बालकृष्णले उम्मेद्वारी पाएपछि हामीले उम्मेदवारी दिनुहुँदैन, त्यसैले अरु पार्टीबाट अर्को उम्मेद्वार उठ्नुभयो, त्यसैले सबै कांग्रेसका साथीहरूले मत दिनुहुनेछ भन्नेमा विश्वस्त छु,’ शिबाकोटीले भने, ‘माओवादीभित्र पनि समर्थन गर्ने धेरै इमान्दार, समृद्धि र विकास चाहाने व्यक्तिहरूको ठूलो समूह छ त्यो भावनाको प्रतिनिधित्व गर्ने अर्को पक्षको उम्मेद्वार प्रतिस्पर्धामा हुनुहुन्न । त्यसैले त्यो एउटा ठूलो समूहको पनि म साझा उम्मेद्वार हुँ ।’

शिबाकोटीले आफू नेकपा एसको पनि साझा उम्मेद्वार भएको प्रष्ट्याउँदै भने, ‘दोलखामा नेकपा एकीकृत समाजवादीको पनि उम्मेद्वार हुनुहुन्न, उहाँहरूको पनि म साझा उम्मेद्वार हुँ, त्यसैले कांग्रेस, माओवादी, समाजवादीका सबै साथीहरूलाई सँगसँगै साथमा लिएर वैत्येश्वरको विकास गर्नेछु ।’

चुनाव लाग्नेबितिक्कै नेता गाउँ आउँछन् र विकासका कुरा गर्न थाल्छन् भन्ने सोचबाट मुक्त हुन आग्रह गर्दै आफू कुनै पार्टी नभनी कांग्रेस, माओवादी र एमाले सबैलाई साथमा लिएर कुराभन्दा काम गर्ने प्रतिबद्धताका लागि अपिलसहित वैत्येश्वर आएको उनको भनाइ थियो ।

‘हामी कुरा होइन विकास गर्छौं, काम गरेर देखाउँछौं भन्ने प्रतिबद्धतासहित मत माग्न आएका हौं । एक चोटी हामीलाई मत दिनुस्, हामी जनतालाई केन्द्रविन्दूमा राख्छौं, को कांग्रेस, को माओवादी, को एमाले नभनी कसैलाई पक्षपात नगरी सँगसँगै काम गर्नेछु,’ उनले भने ।

दोलखाबाट प्रतिनिधिसभामा बालकृष्ण शिबाकोटी तथा प्रदेश सभा ९क० मा नरबहादुर श्रेष्ठ र प्रदेश सभा ९ख० मा भरतबहादुर केसी उम्मेदवार छन् ।

476 shares