दोलखा : बुथ कब्जा भएका स्थानमा पुनः मतदान गर्न एमालेको पालिका कमिटीहरुको माग

वि.सं.२०७९ मंसिर ७ बुधवार १०:१६

दोलखा – मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा भएको फर्जी मतदानबारे नेकपा एमाले दोलखाका ६ वटा पालिका कमिटीहरुले बिज्ञप्ती जारी गर्दै छानविन र पुन मतदानको माग गरेका छन् । जिल्लाको ६ वटा गाउँपालिका कमिटीका अध्यक्षहरुले छुट्टाछुट्टै बिज्ञप्ती मार्फत बुथ कब्जा गरेर जनताको मताधिकार खोसिएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका हुन् ।
एमाले बैतेश्वर गाउँपालिका कमिटीको तर्फबाट जारी विज्ञप्तीमा १, २, ३ र ६ नम्बर वडाको बुथ कब्जा गरी फर्जी मतदान गरिएको भन्दै त्यहाँ पुन मतदानको व्यवस्था गर्न माग गरिएको छ । यसैगरी एमालेले गौरीशंकर गाउँपालिका वडा नम्बर २ स्थित सेतीदेवी आधारभुत विद्यालय मतदान केन्द्रमा आफ्ना कार्यकर्ताहरुमाथि सांघातिक आक्रमण गरी एकलौटी रुपमा फर्जी मतदान गराईएको भन्दै पुनः मतदान गर्न माग गरेको छ ।
कालिञ्चोक गाउँपालिका वडा नम्बर १ स्थित बेगुम्पा मतदान केन्द्रमा पनि सत्तारुढ गठबन्धनले गुण्डाहरु मार्फत एकलौटी मतदान गराएको भन्दै उक्त केन्द्रको मतदान रद्ध गरी पुनः मतदान गराउन माग गरिएको छ ।
यस्तै एमाले मेलुङ गाउँपालिका कमिटीले पनि वडा नम्बर ४ स्थित जुके मावि मतदान क र ख बुथमा प्रहरी प्रशासन र मतदान अधिकृत तथा कर्मचारीहरुको मिलेमतोमा गठबन्धनका तर्फबाट एकलौटी मतदान गरिएको जनाएको छ ।
एमाले शैलुङ गाउँपालिका कमिटीका अध्यक्ष थिरबहादुर मोक्तानले पनि एक विज्ञप्ती जारी गर्दै शैलुङ गाउँपालिका वडा नम्बर २ भुषाभेदा स्थित नविन मावि मतदान केन्द्रमा गठबन्धनबाट बुथ कब्जा गरेर एकलौटी ढंगले ९० प्रतिशत मत खसाल्ने काम गरिएकोले पुन निर्वाचन प्रक्रिया अघि बढाउन माग गरेका छन् ।
तामाकोशी गाउँपालिकाको वडा नम्बर १, ३, ४ र ५ स्थित मतदान केन्द्रहरुमा पर्जी मत खसाल्ने काम भएको भन्दै एमालेले दोषी माथि कारबाहीको माग गरेको छ । एमाले तामाकोशी गाउँपालिका कमिटीका अध्यक्ष उर्मिला खड्काद्धारा जारी बिज्ञप्तीमा वडा नम्बर ३ स्थित जामुने हेल्थपोष्ट मतदान केन्द्रमा पुनः मतदान गराउन माग गरिएको छ ।

वि.सं.२०७९ मंसिर ७ बुधवार १०:१६