रामायणमा बनेको पहिलो फिल्म, रामले गरेका थिए सिताको रोल
वि.सं.२०८० वैशाख ३० शनिवार १२:५१

काठमाडौँ । सन् १९१७ मा पहिलो पटक रामायणमा आधारित पहिलो फिल्म बनेको थियो । ‘लंका दहन’ जसलाई दादा साहेब फाल्केले लेखन तथा निर्देशन गरेका थिए । साइलेन्ट फिल्मको मुख्य भुमिका अन्ना सालुंकेले निभाएका थिए । अन्नाले राम र सिता दुवै भुमिका आफैँले निभाएका थिए ।
अहिले रामायणमा आधारित आदिपुरुष सबैतिर चर्चाको शिखरमा छ । पहिलो टिजर सार्वजनिक गर्दा ट्रोलको शिकार बनेको फिल्म केही समय पर्खेर धेरै कुरा परिवर्तन गर्दै नयाँ ट्रेलर सार्वजनिक गरेको फिल्मको चर्चा सबैतिर छ । फिल्मको स्टारकाष्ट, सिनको चर्चा चुलिएको छ ।
यहाँ हामि पहिलो पटक बनेको रामायणमा आधारित फिल्मको बारेका कुरा गर्नेछौँ ।
स्क्रिनमा पहिलोपटक कहिले देखाइयो रामायण ?
सन् १९१७ मा पहिलोपटक रामायण देखाइयो । यो साइलेन्ट (मूक) फिल्म वाल्मीकि को रामायणमा आधारित थियो । फिल्मको मुख्य भुमिकामा अन्ना र गणपत जी शिंदेले काम गरेका थिए । अन्नाले हिन्दि सिनेमामा पहिलो पटक डबल रोल (राम र सिता) मा काम गरेका थिए । गणपत शिन्देले हनुमानको भुमिकामा काम गरेका थिए ।

फिल्ममा रामको १४ वर्ष वनवास, रावणले सीताको अपहरण गरेको, सीतालाई छुटाउनका लागि रामले वानर सेनको साथमा लंकामा हमला गरेको तथा रावणलाई मारेर अयोध्या फर्केको कथा देखाइएको थियो ।
कस्तो थियो दर्शकको प्रतिक्रिया ?
त्यो समयमा ‘लंका दहन’ देख्न पाउनु दर्शकको लागि नौलो थियो । मुम्बईमा फिल्म देखाउँदा रामको इन्ट्रिमा दर्शकले जुत्ता खोलेर सम्मान गरेका थिए । फिल्मलाई दर्शकले औधि रुचाएका थिए ।
फिल्म इतिहासकार अमृत गंगारका अनुसार फिल्म हेर्न मुम्बईको मेजेस्टिक सिनेमाको बाहिर दर्शकको भिड अत्याधिक हुन्थ्यो । फिल्म हेर्न दर्शकबिच टिकटका लागि ठेलमठेल हुन्थ्यो । टिकटको सिक्का निर्माताको घरमा वयलगाढामा हालेर पुर्याइन्थ्यो । फिल्म हरदिन हाउसफूल भएको कारण मुम्बईको एउटा हलमा २३ हप्तासम्म फिल्म चलेको रिपोर्टमा जनाइएको छ ।
को थिए अन्ना सालुंके ?
अन्ना भारतीय सिनेमाका एक अभिनेता हुनुको साथै सिनेमेटोग्राफर समेत थिए । भारतीय सिनेमाको सुरुवातमा महिला र पुरुष दुवै पात्रको भुमिका गर्ने उनि एक्ला अभिनेता थिए । अन्नाले १९१३ मा आएको फिल्म राजा हरीशचंद्रमा रानी तारामतीको भुमिका निभाएर दर्शकको मन जितेका थिए ।
कसरी मिल्यो फिल्ममा काम ?
कलाकार बन्नु अगाडि अन्ना मुम्बईमा कुक र वेटरको काम गर्थे । उक्त रेष्टुरेन्टमा दादा साहब फाल्के प्राय जाने गर्दथे । उनि फिल्मको लागि हिरोइनको खोजीरहेका थिए । प्रोष्टीच्युट र नाच्ने केटीहरुले पनि उनको फिल्ममा काम गर्न मानेका थिएनन् । सोही समयमा फाल्केको नजर अन्नामा पर्यो । अनि फाल्केले उनलाई फिल्ममा महिला पात्रको भुमिकाको लागि मनाए । अन्नाले उक्त फिल्ममा काम गरे वापत १५ रुपैँया प्राप्त गरे । उनको १८ सालको फिल्मि करिअरमा उनले धेरै फिल्महरुमा काम गरे । जसमध्ये ५ फिल्ममा उनले महिला पात्रको भुमिका निभाए ।
वि.सं.२०८० वैशाख ३० शनिवार १२:५१





